Logo

पश्चिमी न्यून चापीय प्रणाली पूर्वतर्फ सर्दै, आजदेखि देशभर बदली र वर्षा



काठमाडौं, फागुन ७ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आजदेखि शुक्रबार सम्म देशका धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण आजदेखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दूई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, बिहीबार देखि शुक्रबारसम्म बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै लुम्बिनी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्