Logo

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण



म्याग्दी, फागुन ८ । मुस्ताङको थासाङ गाउँपालिका- २ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो।

गोलो आकारको सेकुङतालको वरपर ढुंगा बिछ्याएर एक सय ९१ मिटर पैदलमार्ग निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बाँस्तोलाले बताए। ‘तालमा बाहिरबाट बाढी पस्न नदिनका लागि एक सय २४ दशमव पाँच मिटर रिटेनिङ (पक्की) पर्खाल पनि बनाएका छौं, ‘ उनले भने, ‘ताल नजिकै दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण गरिएको छ।’

इन्जिनियर बाँस्तोलाका अनुसार बेनी-जोमसोम सडकको ताङछराबाट सेकुङ हुँदै भुतर्छोताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक पनि निर्माण भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा पूर्वाधार निर्माण भएको हो।

सेकुङका साथै भुतर्छो, टिटीताल र गुरुसाङवो गुफामा रु दुई करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको इन्जिनियर बाँस्तोलाले बताए। खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो। ताल परिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका-२ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए।

सेकुङतालको पृष्ठभूमिमा पूर्वतर्फ निलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ। करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइको सेकोङताल समुद्री सतहबाट दुई हजार सात सय २५ मिटरको उचाइमा अवस्थित छ। ताल परिसरमा चौंरी, भेडाबाख्रा र गाईभैंसीको चरन खर्क छ। धवलागिरि र तिलिचोपिक हिमालको फेदीमा रहेको ताल परिसरको जंगल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिन्छ। आकाश खुलेको अवस्थामा धवलागिरि, तिलिचो पिक र निलगिरि हिमालको छायाँ देखिन्छ।

ताल, हिमाल, वनजंगल, वन्यजन्तु र पक्षीहरुको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भएको म्याग्दीबाट सेकुङताल घुम्न जानुभएका सुरेन गुरुङले बताए। सेकुङताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश बिन्दुमा पर्छ।

ताल परिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैंसी, भेडाबाख्रा र चौंरीगोठ रहन्छन्। सेकुङतालबाट पाँच मिनेट पैदलयात्रा गरेपछि भुर्छतोताल पुगिन्छ । प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ। यसअघि सुनसान थियो। सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका ताङछराको होलिडे क्याम्प होटलका सञ्चालक राजु गौचनले बताए। रासस



प्रतिक्रिया दिनुहोस्