Logo

निर्वाचन अघिको गठबन्धनले लोकतन्त्रको दायरा साँघुरो भयोः प्रदीप पौडेल



काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले निर्वाचन अघिको गठबन्धनले लोकतन्त्रको दायरा साँघुरो बनेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्ककको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्रको दायरा थप फराकिलो बनाउनका लागि नै अहिले पार्टीको महासमिति बैठकमा निर्वाचन अघि गठबन्धन नगर्नेबारे बहस भइरहेको बताएका हुन् ।

नेताहरुलाई आफ्नो स्वविवेका छाडिदिँदा आफ्नो चाहना र सत्ता सहजीकरणका लागि निर्वाचनअघि गठबन्धन गर्ने प्रवृत्ति देखिएकाले महासमिति बैठकबाट निर्वाचनअघि गठबन्धन नगनेृ संस्थागत निर्णय गराउन लागिएको उनले बताए ।

‘चार वर्षपछि हुने निर्वाचनमा यो बारेमा अहिले नै किन छलफल गरिरहेको होला भन्ने कुरा पनि आउन सक्छ । हामीले नेताहरुको स्वविवेकमा छोडिदिँदा नेताहरुले आफ्नो इन्ट्रेस्ट, सत्तातिरको सहजीकरणको आधारमा निर्णय गर्ने परिस्थिति बन्दै आयो । त्यसकारण कांग्रेसले संस्थागत निर्णय गरेर नगएसम्म यो बारेमा करेक्सन हुने स्थिति बनेन,’– नेता पौडेलले भने ।

स्वतन्त्रताको दायरा फराकिलो बनाउन पर्छ भन्ने लोकतन्त्रको आशय भएपनि निर्वाचन अघिको गठबन्धनले व्यवहारमा त्यसलाई साघुँरो बनाउँदै लगिएको उनले बताए । दलहरु एक आपसमा मिल्दा नागरिकले आफ्नो विवेकले मतदान गर्नसमेत नपाएको उनले बताए ।

नेता पौडेलले सत्ताकै निम्ति सबै गर्ने कुरा प्रधान बन्न नहुने भएकाले आफूहरुले महासमिति बैठकबाट संस्थागत निर्णय गराएर नै निर्वाचनमा गठबन्धन नगर्ने नीति अवलम्बन गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । निर्वाचनपछि सरकार बनाउने विषयमा छलफल र गठबन्धन बन्ने कुरालाई अन्यथा मान्न नहुने र निर्वाचनअघिको गठबन्धनबारे चाहीँ गम्भीर समीक्षा गरेर निश्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ । File photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot