काठमाडौं, फागुन ८ । देशभरको मौसममा फेरी बदली भएको छ। गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम बिहीबारसम्म जारी रहने छ।
शुक्रबारदेखि पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। नगरकोटीका अनुसार आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जानकारी दिए।
काठमाडौं उपत्यकामा बादल लाग्न थालिसकेको बताउँदै उनले बिहीबार काठमाडौँमा वर्षाको सम्भावना रहेको बताए। त्यसअघि पनि फाट्टफुट्ट पानी पर्नसक्ने उनले बताए। अहिले मौसमको बदली विस्तारै पश्चिमबाट पूर्व सरिहेको छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।
आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ ।