Logo

नेसनल प्याव्सन भक्तपुरको फुटसलमा मदरल्याण्ड विजेता



यूनिटी र ईडेन फस्ट रनरअप

भक्तपुर, ८ फागुन। नेसनल प्याव्सन भक्तपुरको आयोजनामा फागुन ६ र ७ गते सम्पन्न भएको अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगिताको विजेता मदरल्याण्ड स्कुल भएको छ । मदरल्याण्ड स्कुलले माध्यमिक तहको फाइनल खेलमा यूनिटी स्कुलसँग र आधारभूत तहको फाइनल खेलमा ईडेन गार्डेन स्कुलसँगको प्रतिस्पर्धामा जीत हासिल गरी दुवै कप उचाल्न सफल भएको हो ।

माध्यमिक तहको खेलमा उपविजेता यूनिटी स्कुल र आधारभूत तहको खेलमा ईडेन गार्डेन स्कुल उपविजेता भइ फस्ट रनरअपको शिल्ड प्राप्त गरेका थिए । माध्यमिक तहको सेकेन्ड रनरअपमा ग्लीटर फ्यूचर स्कुल र क्वालिटी स्कुल हुन सफल भएका थिए ।

आधारभूत तहको सेकेन्ड रनरअपको उपाधि क्वालिटी स्कुल र आरक्षण नेसनल स्कुलले जित्न सफल भएका थिए । त्यसै गरी फेयर प्ले टिमको उपाधि माध्यमिक तहतर्फ पारीजात विद्याकुन्ज स्कुल र आधारभूत तहतर्फ जागृति विदा सदन स्कुलले पाएका थिए । साथै माध्यमिक तहको उत्कृष्ट खेलाडि मदरल्याण्ड स्कुलका खेलाडि निश्चल सुनुवार भएका थिए भने उत्कृष्ट गोलकिपर यूनिटी स्कुलका खेलाडि आशिष थापा भएका थिए ।

आधारभूत तहको उत्कृष्ट खेलाडि ईडेन गार्डेनका अमित मिजार भएका थिए भने उत्कृष्ट गोलकिपर मदरल्याण्ड स्कुलका खेलाडि एकिन कासुला भएका थिए । उक्त प्रतियोगिताको समापन एवं पुरस्कार वितरण प्रमुख अतिथि जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष दिपक थापा, नेशनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का, उपाध्यक्ष रामप्रसाद खाताखो लगायतले शिल्ड र मेडल प्रदान गरेका थिए ।

अन्तर विद्यालय जिल्लाव्यापी फुटसल प्रतियोगितामा भक्तपुरका नेसनल प्याव्सन सदस्य विद्यालयबाट माध्यमिक र आधारभूत तह गरी जम्मा ३२ वटा खेल समूह सहभागि रहेको जानकारी संयोजक सुमन शिल्पकारले दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्