Logo

एमाले–माओवादी पूनः सहकार्यको मिलनबिन्दु बन्दै राष्ट्रियसभाको अध्यक्षको निर्वाचन, प्रचण्डसँग ओलीको लगातार भेटवार्ता



काठमाडौं, ९ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग पूनः सहकार्यको लागि गृहकार्य थालेका छन् । खासगरी सत्ता गठबन्धनमा कांग्रेससँग माओवादीको असन्तुष्टि चुलिएको मौका छोपेर ओलीले पूनः सहकार्यको लागि प्रस्ताव गरेको बुझिएको छ ।

०७९ पुष १० गते ओलीकै समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न सफल भएका थिए । तर, फागुन बित्न नपाउँदै एमाले र माओवादीबीचको सहकार्य तोडिएको थियो । प्रधानमन्त्रीको रुपमा यो प्रचण्डको तेस्रो कार्यकाल हो । उनले आफ्नो तेस्रो कार्यकालको एक वर्ष पार गरिसकेका छन् । सुशासन कायम गर्ने र सरकार सञ्चालनमा कांग्रेसका मन्त्रीहरु बाधक बनेको प्रचण्डको आरोप छ ।

खासगरी अर्थमन्त्री डा. प्रकाशशरण महत आफूसँग सल्लाह नगरी एकलौटी रूपमा अघि बढेको प्रचण्डको गुनासो छ । आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा गरेको अवसरमा जनताको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पूनर्गठन गर्ने चाहना व्यक्त गरेका थिए ।

तर, उनको त्यो चाहनामा कांग्रेस सभापति शेरबहादुर देउवा बाधक बन्दै आएका छन् । पछिल्लो समय राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आफ्ना उम्मेद्वार हराउनको लागि कांग्रेस सांसदहरुले भूमिका खेलेको माओवादीको निश्कर्ष छ । माओवादीका अधिकांश प्रभावशाली नेताहरुले कांग्रेससँगको सहकार्यबारे पूनर्विचार गर्नुपर्ने आवाज उठाएका छन् ।

प्रधानमन्त्री दाहालले पनि हालै बसेको पार्टीको विधान अधिवेशनमा कांग्रेसले आफूहरुलाई पटक पटक धोका दिएकाले अब सहकार्यबारे सोच्नुपर्ने बेला आएको टिप्पणी गरेका थिए । चुनावअघि राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई दिने र कांग्रेसबाट पनि कृष्ण प्रसाद सिटौलालाई अध्यक्षमा अघि सार्ने गठबन्धनमा समझदारी थियो । तर, कोशीको निर्वाचनको मतपरीणामपछि माओवादीले बोली फेरेको छ । अहिले माओवादी नेताहरुले राष्ट्रियसभाको अध्यक्ष आँफै राख्ने अडान लिन थालेका छन् ।

राष्ट्रियसभाको निर्वाचन यही फागनु २९ गते हुँदैछ । त्यसअघि नै सत्ता गठबन्धनका मुख्य घटकहरु कांग्रेस र माओवादीबीच अविश्वासको वातावरण सिर्जना भएको छ । कांग्रेसको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमा चुनावअघि गठबन्धन नगर्ने कुरा उल्लेख छ । यस विषयमा सभापति देउवाले आपत्ति जनाएका थिए ।

तर, पार्टीका पदाधिकारी प्रायः सबैजना गगनको प्रस्तावमा उभिएपछि देउवा पनि ब्याक भएका छन् । र, अन्ततः गगनकै लाईनमा प्रस्ताव पेश भएको छ । कांग्रेसभित्र शेखर कोइराला समूह सधैं प्रचण्डप्रति अनुदार रहँदै आएको छ । शेखरले त सार्वजनिक रुपमै प्रचण्डको विकल्प खोज्नुपर्ने आवाज उठाएका छन् । प्रधानमन्त्री प्रचण्ड कांग्रेसको व्यवहारका कारण सत्ता सहकार्यको लागि अब काँध फेर्ने मुडमा पुगेको चर्चा छ ।

गठबन्धनभित्रको खटपटलाई नजिकबाट नियाँलिरहेका एमाले अध्यक्ष ओलीले प्रचण्डसँग सहकार्यको लागि प्रस्ताव गरेको स्रोतको दाबी छ । हिजोमात्रै पनि यी दुई नेताबीच सिंहदरबारमा साँझ झण्डै दुई घण्टा गोप्य भेटवार्ता भएको छ । भेटमा दुई नेताबीच सत्ता–सहकार्यको विषयमा केन्द्रित भएर छलफल भएको उच्च स्रोतको दाबी छ । बाहिर टिआरसी विद्येयक टुँगो लगाउन भेटवार्ता भएको भनिएपनि भित्री रुपमा सत्ता–सहकार्यबारे छलफल बढि भएको बताईएको छ ।

ओलीले राष्ट्रियसभाको अध्यक्षमा माओवादीलाई सघाउने वचन दिएका छन् । अहिले एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुपनि दुई दलबीच सहकार्य गर्नुपर्ने भन्दै आन्तरिक छलफलमा जुटेका छन् । ओली र प्रचण्डबीच नयाँ शिराबाट सहकार्य हुन लागेको थाहा पाएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि सहकार्यको लागि आफू तयार रहेको सन्देश दुवै नेताकहाँ पुर्याएको स्रोतको दाबी छ । एमाले र माओवादीबीच सहकार्यको मिलनबिन्दु यही फागुन २९ गते हुने राष्ट्रियसभाको अध्यक्षको लागि हुने निर्वाचन बन्नसक्ने दाबी गरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्