Logo

काठमाडौं महानगरद्वारा एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक



काठमाडौं, ९ फागुन । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि आजदेखि फोहोर संकलनमा रोक लगाइएको हो ।

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा त्रुटि पाइएपछि अस्पताललाई यसअघि (२०७९ बैशाख १६ गते) पत्राचार गरेर ९ बुँदे सुधारका सुझाव दिइएको थियो । फोहोरको रेकर्ड राख्न, बिनहरुमा लेभल राख्न, फोहोर वर्गीकरण गर्न, बिसर्जन पूर्व संक्रमण भएको फोहोरलाई अटोक्लेभ गरेर संक्रमणरहित बनाउन, वातावरणीय अध्ययन गर्न त्यसबेला दिइएका सुझाव थिए ।

यसरी सुझाव दिएको आउने बैशाखमा २ बर्ष पुग्दैछ । यति लामो अवधिसम्म पनि सुधारका कुनै संकेत देखिएका छैनन् । अस्पतालमा फोहोर वर्गीकरण गर्ने बाल्टिनको रङ्ग संकेत ख्याल गरिएको छैन । ढुवानीका लागि ट्रलीहरुको प्रबन्ध छैन । संकलित फोहोर भण्डारण व्यवस्थापन भएको छैन । संक्रमणयुक्त फोहोर निर्मलीकरण गर्ने ठाउँमा पुग्ने बाटो साँधुरो छ ।लापर्वाही देखिएपछि फोहोर संकलन कार्यमा रोक लगाइएको हो ।

‘स्वास्थ्य संस्थाजन्य हानीकारक फोहोरले मानव तथा प्राणी स्वास्थ्य र वातावरणमा प्रत्यक्ष नकारात्मक असर पार्छ । यसकारण अस्पतालबाट निस्कने हानीकारक फोहोर व्यवस्थापनमा सानातिना त्रुटि पनि स्वीकारिँदैन ।’ अस्पतालको फोहोर व्यवस्थापन अभ्यासको विश्लेषण गर्दै प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘सामान्यतयाः निजी अस्पतालहरुको सेवा राम्रो भन्ने गरिन्छ । फोहोर व्यवस्थापनको अभ्यास हेर्दा निजीले भन्दा सरकारी अस्पतालले राम्ररी काम गरेको पाइयो । सरकारीले नै राम्रो गर्नु पर्ने हो । गरिरहेको देखियो ।’

निरक्षण टोलीले मीनभवनस्थित सिभिल अस्पतालको पनि अनुगमन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्