Logo

कोटिहोम महायज्ञ उद्घाटनका लागि अछाम जाँदै राष्ट्रपति



काठमाडौं, फागुन १० । राष्ट्रपति रामचन्द्र पौडेलले आज अछामको वैद्यनाथमा लाग्ने ‘कोटिहोम’ महायज्ञ उद्घाटन गर्दैछन् । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा आजदेखि यहि फागुन २५ गते (शिवरात्रीको दिन) सम्म सञ्चालन हुने कोटिहोमको उद्घाटन गर्न राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्ताहन गर्न लागेका छन् ।

कोटीहोम मुल आयोजक समितिका अनुसार राष्ट्रपति पौडेलले आज बिहान ११ वजे कोटिहोम महायज्ञको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोम लाग्न लागेको हो। जसको सम्पूर्ण तयारी भइसकेको कोटिहोम मुल आयोजक समितिले जनाएको छ।

वैद्यनाथ धामको धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार,वैदिक सनातक धर्म संस्कृतिको संरक्षण सम्वर्द्धन,समाजमा अध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथधामलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सृदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुवर्दे माविमा स्तरोन्नती, लोकसस्कृति, लोककला,लोकगाथाको संरक्षण सम्वर्द्धन गर्ने उद्देश्यका साथ कोटिहोमको आयोजना गर्न लागिएको बताइएको छ। कोटिहोम महायज्ञमा झन्डै डेढ करोड खर्च हुने अनुमान छ।

अछाम जानुअघि राष्ट्रपति पौडेल बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुँदैछन् । अहिले बिहान साढे ९ बजे राष्ट्रपति पौडेल पञ्चकोट पुग्ने कार्यक्रम रहेको छ । महायज्ञमा सहभागी भएपछि राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट अछामतर्फ प्रस्ताहन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्