Logo

‘दृष्टिविहीनप्रति जिम्मेवार बन्नुपर्छ’



खजुरा (बाँके), १० फागुन । नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४२ भन्दा बढी दृष्टिविहीन र न्यूनदृष्टियुक्त बालबालिका र किशोरकिशोरी अध्ययनरत रहेका छन् ।

विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन सङ्घले लिएको छ । सङ्घले ती विद्यार्थीलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने तथा उनीहरुको अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सोही विद्यालयका दृष्टिविहीन शिक्षक भोला त्रिपाठी भन्छन्, “सङ्घले विभिन्न निकायसँगको सहकार्यमा दृष्टिविहीन र न्यूनदृष्टियुक्तको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आएको छ ।” विद्यालयमा अध्ययनरत दृष्टिविहीन र न्यूनदृष्टियुक्तको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखाले मिलाएको छ । शिक्षा शाखाले प्रत्येक विद्यार्थीका लागि मासिक चार हजार रकम उपलब्ध गराउँदै आएको छ ।

“न्यूनदृष्टिविहीन र न्यूनदृष्टियुक्त विद्यार्थीका लागि निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि उनीहरुको जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ”, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाको भनाइ छ ।

मङ्गल माविमा दृष्टिविहीन र न्यूनदृष्टियुक्तका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ । “यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौँ भन्ने भावनाको विकास गराउनु नै हो,” शिक्षक त्रिपाठीले भने ।

सङ्घको तथ्याङ्कअनुसार, बाँकेमा झन्डै पाँच हजार अपाङ्गता भएकामध्ये दृष्टिविहीन र न्यूनदृष्टियुक्तको सङ्ख्या झन्डै दुई सय रहेको छ । शिक्षक त्रिपाठी भन्छन्, “दृष्टिविहीनका लागि अहिले जति सुखद प्रयास भएका छन्, यो नै पर्याप्त छैन । यसका लागि राज्य अझ जिम्मेवार हुनैपर्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्