Logo

लिफ्ट सिँचाइले फेरिएको राइगाउँ



चितवन, १० फागुन । सिँचाइको अभावमा भरुभूमिजस्तै रहने गरेको मकवानपुरको बागमती गाउँपालिका–२ राईगाउँ यतिखेर हराभरा भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका बासिन्दा अहिले लिफ्ट सिँचाइको व्यवस्थासँगै सदाबहार खेती गर्न केन्द्रित भएका छन् ।

अघिल्ला वर्षहरूमा यतिबेला माटो उड्ने गरेका खेतमा अहिले भने मकै हराभरा भएका छन् । असारमा धान र चैतमा मकैखेतीमात्रै गर्ने उनीहरू अहिले बेमौसमी मकैखेतीमा केन्द्रित भएका छन् ।

मकवानपुरको यस गाउँपलिका वडा नं २ मा चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले नयाँ प्रविधिसहित सिँचाइको व्यवस्था गरेसँगै उनीहरू कृषिकर्ममा व्यस्त रहने गरेका छन् । आयोजनाले बागमती नदीको पानीलाई लिफ्ट सिँचाइ प्रणालीबाट खेतखेतमा पानीको व्यवस्था गरेपछि स्थानीय कृषि कर्ममा उत्साहित बनेको स्थानीय घनश्याम विक बताउँछन् ।

आयोजनाले ६५ लाखको लागतमा बागमती नदीको पानीलाई तानेर गाउँमा पुर्याएपछि त्यहाँका बासिन्दा उत्साहित भएर लागेको उनले बताए । बाढीमा समेत मोटरको सुरक्षा गर्नेगरी आयोजनाले सिँचाइको व्यवस्था गरेपछि यस क्षेत्रका युवासमेत खेतीमा आकर्षित भएको विकले बताए ।

नदीको पानीलाई तानेर एक हजार पाँच सय मिटरसम्म सिँचाइको व्यवस्था हुँदा गाउँ नै फेरिएको उनको भनाइ छ । नियमित सिँचाइको व्यवस्था भएपछि यस क्षेत्रको एक सय ५० बिघा क्षेत्रफलमा सिञ्चित भएको उनले बताए । विकले भने, “विदेश जाने सोच बनाएको थिएँ, अब त्यो सोचलाई परिवर्तन गरेको छु ।”

स्थानीय राजकुमार सेन्चुरीले अहिले आफ्नो बारीमा मात्रै नभएर छिमेकीको बारीमा समेत मकैखेती गर्दै आएका छन् । सिँचाइ भएपछि गाउँमा हरित क्रान्ति भएको उनले बताए । उनले भने, “पहिला यो समयमा बारीमा धुलो उड्थ्यो, अहिले हरियाली भएको छ ।”

स्थानीयले यस वर्ष मकै बेचेरमात्र एक करोड आम्दानी गर्ने उनले बताए । गाउँपालिकाले मकैको बीउमा अनुदान दिएर मकैखेती गर्न प्रोत्साहन गरेको छ । बागमतीको पानीले यस क्षेत्रलाई १२ महिना नै हरियाली बनाउन सहयोग गरेको उनको भनाइ थियो । भदौदेखि राइगाउँबजार लिफ्ट सिँचाइ आयोजनाले किसानलाई पानी उपलब्ध गराउन थालेको हो । पहिला आफूहरूको आम्दानीको स्रोत केही नभएर विदेश जानुपर्ने बाध्यता भए पनि अब भने त्यस्तो नभएको उनले बताए ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख ई देवकुमार स्याङ्बो यो परियोजनाले यस क्षेत्रको मुहार फेर्न सफल भएको बताउँछन् । नयाँ प्रविधिबाट नदीको पानीलाई गाउँमा पुर्याइएको हो । क्रेन लिफ्ट सिँचाइ प्रविधिबाट सिँचाइको व्यवस्था गरिएको उनले बताए ।

उनले भने, “वर्षात्को समयमा बाढी आउँदा मोटरको सुरक्षाका लागि क्रेनेल मोटरलाई माथि तान्नेगरी आयोजना सम्पन्न गरिएको छ ।” आधुनिक सिँचाइ प्रणालीबाट यस क्षेत्रको सिँचाइ गरिएको बताउँदै उनले अहिले क्षेत्रफल विस्तारको काम भइरहेको बताए । स्थानीयले क्षेत्रफल विस्तारका लागि बजेट माग गरेको उनको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्