काठमाडौं,१० फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक आज सकिँदैछ । चार दिनदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी बैठक आज समापन हुन लागेको हो ।
बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुने कांग्रेसले जनाएको छ । पहिलो दिन उद्घाटनमात्र गरेर स्थगित बैठकमा दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा। प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमा समूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गरेका थिए ।
कांग्रेसको चार दिनदेखि जारी महासमिति बैठक सकिँदैगर्दा बैठकमा सांगठनिक प्रतिवेदन पेश गरेका महामन्त्री गगनकुमार थापाको प्रस्तावलाई लिएर पार्टी र पार्टी बाहिर दुवैतिर चर्चा भईरहेको छ । महामन्त्री थापाले सांगठनिक प्रतिवेदनमा कांग्रेसले आगामी निर्वाचनमा कुनैपनि पार्टीसँग गठबन्धन नगर्ने प्रतिवद्धता जनाएका छन् ।
महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताले आगामी निर्वाचनमा रुख चिन्ह बाहेक अन्त मत हाल्न नपर्ने अवस्था निर्माण गर्ने प्रस्ताव पेश गरेपछि पार्टीभित्र ठूलै खैलाबैला मच्चिएको छ ।
‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ गगनले सांगठनिक प्रसतावमा भनेका छन्, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन स्थापित गर्नेछौं।’
महामन्त्री थापाले आगामी निर्वाचनमा कुनैपनि गठबन्धन नगर्ने भनेर उल्लेख गरेको विषयलाई लिएर महासमिति बैठक उद्घाटन नै नभई तरंग ल्याईदिएको थियो । प्रस्ताव सर्वसम्म नभएपछि सभापति शेरबहादुर देउवाले बैठक रोकेर पूर्व पदाधिकारी र पदाधिकारीहरुको छलफल डाकेका थिए । सभापति देउवाको निजी निवास धुम्बराहीमा बसेको बैठकमा गगनको प्रस्ताव सच्याउन संस्थापन पक्षले दवाव दिएका थिए ।
संस्थापन पक्षको दवावलाई गगनले वास्ता नगरेपछि संस्थापन पक्षले केन्द्रीय समितिबाट भोटिङ गरेर पास गर्न चुनौति दिएका थिए । संस्थापन पक्षको उक्त चुनौती गगनले स्वीकार गरेपछि देउवा पक्षका नेताहरु हच्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार गगनको प्रस्तावमा उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतले विरोध जनाएका थिए । कडा रुपमा प्रस्ताव सच्याउन खड्का र महतले दवाव दिएपनि गगनले नमानेपछि देउवाले महत र खड्कालाई ‘भयो यार छोड’ भनेपछि विवाद मिलेको स्रोतको दाबी छ ।
पदाधिकारी र पूर्व पदाधिकारीको बैठकबाट जुटेको सहमति अनुसार गगनले आफ्नो प्रस्ताव मंगलबार हलमा पेश गरेका थिए । उनको प्रस्तावमाथि छलफल गर्दै संस्थापन निकटका जिल्ला सभापतिले प्रस्ताव अहिलेकै अवस्थामा पाश गर्न नहुने बताएका छन् भने संस्थापन इतर समूहले खुलेरै समर्थन गरेका छन् ।
मंगलबार र बुधबारसम्म आफ्नो धारण राखेका देउवा निकटका विभिन्न जिल्लाका सभापतिहरुले गगनको प्रस्ताव पास भए सत्ता गठबन्धन भत्किने र कांग्रेसको हातमा केही पनि नरहने भन्दै नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै सुनसरी सभापति केदार भण्डारीले राष्ट्रिय सभा निर्वाचन र कोशीको मुख्यमन्त्री प्रकरणबाट सत्ताको नेतृत्व गरिरहकेो दल नेकपा माओवादी केन्द्र सशंकित बनेको भन्दै अब धेरै बिच्काउन नहुने बताएका छन् ।
भण्डारीले आनजको अवस्थामा कांग्रेसको प्रमुख प्रतिस्पर्धी दल नेकपा एमाले भएको भन्दै एमालेलाई भने जतिसक्दो कमजोर बनाउनुतिर लागुनपर्ने बताएका छन् ।
उनले भने, ‘एमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै बिच्काउनु हुन्न । गठबन्धन तलमाथि नबनोस् । गठबन्धन गर्न हुन्नहुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुस्खेको हुन्छ । नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुरोध छ ।’
यता झापा सभापति देउमान थेवेले पनि महामन्त्री थापाको प्रस्ताव पारति भएका सत्ता गठबन्धन टुट्ने खतरा रहेको भन्दै यो प्रस्ताव संशोधन हुनपर्ने धारण राखेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्को गठबन्धनको कुरा गरिरहेको भन्दै उनले गठबन्धनबारे महासमिति बैठकमा छलफल हुन आवश्यक नरहेको बताएका थिए ।
‘गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि !‘‘गठबन्धन नहुँदा हाम्रो ओठमुख सुकेको थियो। सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके,’ थेबेको भनाइ थियो ।
यता अर्का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभामा संसदीय दलका नेता रमेशजंग रायमाझीले त थापाको सांगठनिक प्रतिवेदनका कारण कांग्रेसले ओठमुख सुकाउनुपर्ने अवस्था बन्न सक्ने खतरा बढेको भन्दै नेतृत्वलाई प्रस्ताव सच्याउन आग्रह गरेका थिए । कम्युष्टिहरु मिलेमा पार्टीको अस्तित्व समाप्त हुने खतरा रहने भन्दै उनले भएका कमिकमजोरी सच्याएर गो गठबन्धन जोगाउनुपर्ने बताएका छन् । “राष्ट्रियसभा अध्यक्षको पद खाली हुँदैछ । कांग्रेसलाई संवैधानिक परिषद् सदस्य बनाउनुपर्छ भनेर कुरा अघि बढिरहेको बेलामा गठबन्धन तोड्ने भनेको के हो ? कांग्रेसले त्यो गुमाउन खोजेको हो ?,” ।
उनले मंगलबार सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबिच ५० मिनेट छलफल भएको पनि बैठकलाई बताए । “गठबन्धन अहिलेको आवश्यकता हो । एउटा नेताले गरेको मात्र गठबन्धन हैन । गठबन्धन आवश्यक नभएको भए नयाँ नेतृत्वलाई निर्णय गर्न दिँदा हुन्छ अहिले ८४ र ८२ भनेर हिँड्ने ?,” उनले भने, “कम्युनिष्टहरू एक हुँदैछन् । ओठ, मुख सुकाउने अवस्था भोलि नबनोस् । राष्ट्रियसभा अध्यक्ष गुमाउने काममा पार्टी नलागोस् ।”
त्यस्तै ललितपुर सभापति जितेन्द्र श्रेष्ठले अहिले नै गठबन्धनबारे निर्णय गर्न नहुने बताएका थिए। अहिलेको गठबन्धन नभएको भए कांग्रेसमा निराशा थप बढ्ने उनको दाबी थियो।
कांग्रेसका गोरखा सभापति नन्दप्रसाद न्यौपानेले कांग्रेस आफ्नै खुट्टामा उभिन नसकेको बताए। ‘गठबन्धन दलको विचार नमिलेका कारण गोरखामा समस्या भएको छ। कांग्रेसको आफ्नै विचार र सिद्धान्त छ, यसमा अडिग रहनुपर्छ,’ उनले भनेका छन्।
संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले अप उप्रान्त कुनै पनि चुनावमा गठबन्धन गर्न नहुने बताए । ‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन,’ बैठकमा उनले भने, ‘तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्ने ।’
संस्थापन निकटका सभापतिले महामन्त्री थापाको प्रस्तावप्रति आपत्ति जनाएपनि संस्थापन इतर समूहका नेताहरु भने यो प्रस्तावलाई कुनैपनि हालतमा पाश गर्नुपर्ने पक्षमा देखिएका छन् । धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले गठबन्धन गर्नै नहुने धाराणा राखेका छन्। ‘गठबन्धन गर्नै हुँदैन । यसले मधेशमा कांग्रेस कमजोर भएको छ,’ उनले भनेका छन् । पञ्जियारजस्तै संस्थापन इतर समूहका अधिकांश सदस्यहरुले गठबन्धन नगर्ने नीति पास गर्नुपर्ने भन्दै नेतृत्वलाई दवाव दिईरहको छन् ।
संस्थापन पक्ष र इतर दुवै समूहको हानाथापबीच जारी महासमिति बैठक आज समापन हुँदैछ । अहिलेकै अवस्थामा गगनको प्रस्ताव पास हुने लगभग निश्चित जस्तै रहेको छ । गगनको सांगठनिक प्रस्ताव सार्वजनिक भएदेखिनै राजनीतिक वृतमा निकै चर्चा भईरहकेो छ । गगनको प्रस्तावले सत्ता सहकार्यको भविष्य के हुन्छ भन्नेबारेमा सर्वत्र प्रश्न उठिरहेको छ । स्रोतका अनुसार ७ फागुनमा गगनको प्रस्ताव सार्वजनिक भएकैदिन सभापति देउवा, उपसभापति खड्का लगायतका नेताहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । उक्र भेटमा महामन्त्री थापाको प्रस्ताव जेसुकै आएपनि सत्ता गठबन्धबाट कांग्रेस अलगिने कुरामा कुनै विश्वास नगर्न प्रचण्डलाई देउवाले आग्रह गरेका थिए । तर, देउवाको आश्वासनले प्रचण्ड त्यतिधेरै विश्वस्त नभएको स्रोतको दाबी छ ।
यता गगनको प्रस्तावले सत्तारुढ दलबीच बेचैन देखिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो सक्रियता बढाएको छ । जसरी भएपनि सत्ता गठबन्धन भत्काउन लागिपरेको एमालेले गगनको प्रस्तावलाई मौका छोपेर माओवादी र कांग्रेसलाई अलग्याउने रणनीति बनाएको देखिन्छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु निरन्तर लागिरहेका छन् ।
मंगलबारमात्र प्रधानमन्त्री प्रचण्डसँग २ घण्टा लामो गोप्य छलफल गरेका ओलीले सत्ता गठबन्धन भत्किेन सक्ने संभावना औंल्याएका छन् । पार्टीको जारी सातौ केन्द्रीय कमिटीको बैठकमा ओलीले यसबारेमा संकेत गरेको एमाले स्रोतको दाबी छ ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको चुनावी गठबन्धनबाट आफूहरुलाई ठूलो घाटा लागेको र कांग्रेसलाई भने फाईदा पुगेको विश्लेषण गरेका छन् । ०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा ५४ सिटसहित निर्णायक तेस्रो शक्ति बनेको माओवादी ०७९ को निर्वाचनमा कांग्रेसहित पाँच दलीय गठबन्धन गर्दापनि ३२ सिटमा खुम्चिएपछि प्रचण्डले कांग्रेसबाट आफ्नो दलमा भोट नखसेको निश्कर्ष निकालेका हुन् । कोशीको मुख्यमन्त्रीदेखि राष्ट्रिय सभा निर्वाचनमा पाएको धोकासम्मलाई प्रचण्डले मिहिन ढंगबाट विष्लेषण गरिरहेका छन् ।
एमाले नेतृत्वले अहिले माओवादीसँग सत्ता सहकार्यको प्रस्ताव राष्टियसभाको अध्यक्षको निर्वाचनको मुखमा राखेको छ । माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो दाबी कायम राखेको छ । यसअघि कांग्रेसलाई दिने भनेको उक्त पदमा माओवादीका अधिकांश नेताहरुले आफ्नो दलको दाबी रहने सार्वजनिक अभिव्यक्ति दिएका छन् । एमालेले माओवादीलाई राष्ट्रिय सभाको अध्यक्ष नछोड्न भनेको छ । सम्भवतः राष्ट्रिय सभाको निर्वाचनको मुखमा पारेर एमाले र माओवादीबीच नयाँ ढंगबाट सहमति हुनसक्ने आँकलन गरिएको छ ।
वामपन्थीहरुलाई एक बनाउनुपर्ने भन्दै अहिले झलनाथ खनाल, वामदेव गौतमदेखि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसमेत कम्मर कसेर लागेका छन् । झलनाथले आजमात्रै मुलुकलाई अब नयाँ राजनीतिक कोर्समा अघि बढाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उता, वामदेव त सुरुदेखि नै कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा छन् । विप्लव अहिले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मलित समाजवादी मोर्चामा छन् ।
उनी नेतृत्वमा चक्रीय प्रणालीअनुसार अहिले मोर्चाको संयोजक बनेका छन् । विप्लवले आफू मोर्चाको संयोजक भएलगत्तै एमालेसँग पनि सहकार्य गर्नसकिने अभिव्यक्ति दिएका छन् । विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनको लागि ओलीले नै भूमिका खेलेका थिए । ओली नेकपाको शक्तिशाली सरकारको नेतृत्वमा हुँदा विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति भएको थियो । यसले पनि विप्लव ओली र प्रचण्डबीच सहकार्य होस भन्ने चाहन्छन् । उनले यो विषयमा दुवै नेतासँग छलफल गरेको स्रोतको दाबी छ ।
एमाले र माओवादीबीच सहकार्यको लागि विप्लवपनि आँतुर छन् । प्रायः कपिलवस्तुमा कृषि क्रान्तिको लागि जग हाल्नमा व्यस्त रहने गरेका विप्लव यतिवेला काठमाडौंमा नै सक्रिय छन् । उता, नेपालका वामपन्थी शक्तिहरु एक होउन् भन्ने मित्रराष्ट चीनको पनि चाहना रहेको छ । भारतको निर्वाचनको मुखमा अहिलेको सत्ता गठबन्धन भत्काएर चीनले आफूलाई नेपालको राजनीतिमा बलियो उपस्थिति देखाउन खोजेको र सोहीअनुसार भूमिका खेलेको भनेर चर्चा पनि सुरु भएको छ ।
एमाले नेतृत्वबाट सहकार्य गर्ने भए अहिले नै गरौं र पछि समय घर्किएपछि आफूहरुले त्यसमा चासो नदिने जवाफ दिएपछि प्रचण्ड पनि बोल्ड डिसिजन लिने मुडमा पुगेका छन् । उनले अहिले कांग्रेसका नेताहरुसँग छलफल तथा भेटवार्ता भन्दापनि एमाले अध्यक्ष ओलीसँगको भेटवार्ता र छलफललाई महत्व दिन थालेका छन् ।
एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु भने दुई दलबीच नयाँ ढंगले सहमति हुनेमा आशावादी छन् । यसपटक दुवै दलका दुई अध्यक्षबीच उच्च तहमा गम्भीर ढंगले छलफल भएकोले सहमतिको परीणाम पनि आश्चर्यजनक ढंगले आउनसक्ने ती नेताहरुको विश्वास छ ।