Logo

नेपाल ‘ए’ लाई स्तब्ध पार्दै तीन म्याचको सिरिज क्यानडा-११ को पोल्टामा



काठमाडौं,१० फागुन । नेपाल ‘ए’ लाई हराउँदै क्यानडा-११ ले तीन म्याचको सिरिज जितेको छ । आज भएको निर्णायक खेलमा क्यानडा-११ ले नेपाल ए लाई ४ विकेटले पाखा लगाउँदै सिरिज २-१ ले जितेको हो ।

नेपाल ए ले दिएको १८२ रनको सामान्य लक्ष्य क्यानडा-११ ले ३९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । क्यानडा -११ का लागि नवनित दलिवालले ३८ तथा निकोलस किर्तोनले ५८ रन जोड्दा आरोन जोनसनले ३६, दिलप्रित बाजवाले १७, निखिल दत्तले १४ र श्रीमन्था विजयरत्नेले १० रन थपे ।

बलिङतर्फ नेपालका साहब आलमले १० ओभरमा ४ विकेट चट्काएपनि टिमलाई जिताउन भने सकेनन् ।

यसअघि माथिल्लो मूलपानी मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको नेपाल ए ४७ ओभरमा १८० रनमा अलआउट भएको थियो ।

नेपालका लागि आशुतोस घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, तथा सुजन थपलियाले २०, प्रतिश जीसी र रासिद खानले समान १९ रन जोडे ।

बलिङतर्फ क्यानडा-११ का डिलोन हेलिगर, हर्श थाकर र निकोलस कार्तिनले समान २ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा उत्रिएको थियो । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरेका हुन् ।

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।



प्रतिक्रिया दिनुहोस्