Logo

इजरायलद्वारा युद्धविराम वार्तामा आगामी कदमबारे छलफल



जेरुसेलम, १३ फागुन । इजरायलको युद्ध क्याबिनेटले हमाससँगको युद्धमा बन्धक सम्झौता र युद्धविरामका लागि वार्ताका लागि आगामी कदमबारे छलफल गरेको छ ।

बन्धक सम्झौताबारे नयाँ वार्ताका लागि पेरिस पुगेको इजरायली प्रतिनिधिमण्डल शनिबार राति देशको युद्ध क्याबिनेटलाई छलफलका क्रममा उठेका सवाल जवाफबारे जानकारी गराउन फर्किएको सरकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले बैठकअघि टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘प्रतिनिधिमण्डल पेरिसबाट फर्केको र सम्भवतः सहमतितर्फ अघि बढ्ने ठाउँ रहेको’ बताएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बैठकमा ‘वार्तामा आगामी कदम’ बारे छलफल हुने बताएका छन् ।

वार्तालाई निरन्तरता दिन आगामी दिनमा कतारमा प्रतिनिधिमण्डल पठाउने सहमति भएपछि बैठक सम्पन्न भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोभेम्बरमा भएको एक साता लामो युद्धविराममा १०० भन्दा बढी बन्धकलाई मुक्त गरिएजस्तै कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले पनि सम्झौताका लागि प्रयासको नेतृत्व गरिरहेका छन् ।

बन्दीहरूलाई घर फर्काउन सरकारमाथि घरेलु दबाब पनि निरन्तर बढिरहेको छ, शनिबार राति तेल अभिभमा हजारौंको सङ्ख्यामा भेला भएका बन्धक तथा अन्य बन्दीहरूका आफन्तले छिटो निष्कषमा पुग्न माग गरेका छन् ।

“हामी हाम्रा प्यारा आफन्तजनहरूलाई जस्तोसुकै अवस्थामा होस् छिट्टै हामीकहाँ फिर्ता ल्याउन तपाईहरूसँग भनिरहेका छौँ,” ४५ वर्षीय अविवित याब्लोन्काले भने । याब्लोन्काकी बहिनी हनानलाई अक्टोबर ७ मा अपहरण गरिएको थियो ।

तेल अभिवमा पनि सरकार विरोधी प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए र नेतन्याहूको सरकारलाई राजीनामा दिन माग गरेका थिए । अधिकारीहरूले उनीहरूलाई तितरबितर पार्न पानीको फोहोरा र ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गर्नुपरेको थियो ।

“उनीहरू (सरकारी अधिकारी) ले हाम्रो लागि सही बाटो रोजेका छैनन् । चाहे त्यो अर्थव्यवस्था होस्, चाहे हाम्रा छिमेकीहरूसँगको शान्ति होस्,” ५४ वर्षीय सफ्टवेयर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोती कुश्नरले सरकारका बारेमा आलोचना गर्दै भने ।

उनले थपे, “यस्तो देखिन्छ कि उनीहरू कहिल्यै पनि युद्ध अन्त्य गर्न चाहँदैनन् ।”

– बढ्दो हतास –

घेराबन्दीमा परेको गाजा पट्टीमा चार महिनाभन्दा बढी समयदेखि खाद्यान्न अभाव भएपछि विश्व खाद्य कार्यक्रमले यसै साता आफ्नो टोलीले ‘अकल्पनीय स्तरको निराशा’ देखाएको बताएको छ भने संयुक्त राष्ट्रसङ्घले २२ लाख मानिस अनिकालको सङ्घारमा पुगेको चेतावनी दिएको छ ।

उत्तरी गाजाको जबालिया शरणार्थी शिविरमा बालबालिकाले प्लास्टिकका भाँडाकुँडाहरू र खाना पकाउने भाँडाहरू समातेर राखेका दयनीय तस्वीरहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेका छन् ।

बम विस्फोटका कारण सहायता एजेन्सीहरू त्यस क्षेत्रमा प्रवेश गर्न असमर्थ भएका कारण आपूर्ति सेवाहरू अवरूद्धजस्तै भइरहेका छन् । भोक तीर्खा मेट्नकै लागि चोरी र डकैँतीका घटनाहरू बढेका छन् । सीमित मात्रामा सहायता लिई गाजा क्षेत्रमा प्रवेश गरेका ट्रक र कन्टेनरहरूले भोकभोकै परेका गाजावासीकोे उन्मादी लुटपाटको सामना गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot