Logo

विद्यालयका लागि पुस्तक जुटाउँदै युवाहरु, छाब्दीबाराहीले अरनिको माविलाई दियो तीन सय बढी पुस्तक



काठमाडौं, १३ फागुन । लायन्स लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीले काभ्रेको अरनिको माध्यामिक विद्यालयलाई तीन सय बढी पुस्तकहरु उपलब्ध गराएको छ । क्लबमा आबद्ध युवाहरुले ‘हाम्रो लाइब्रेरी हामी बनाउँछौं’ अभियानअन्तर्गत आफ्नो व्यक्तिगत लगानी तथा दाताहरुबाट पुस्तक संकलन गरी चौरीदेउरालीको हरेडाँडामा अवस्थित अरनिको माविलाई पुस्तक उपलब्ध गराएका हुन् ।

छाब्दीबाराही क्लबकी अध्यक्ष मन्जिता परियारकाअनुसार विद्यालयलाई सामान्य ज्ञान, प्रेरणादायी व्यक्तिको जीवनी, विज्ञानसम्बन्धित, स्वास्थ्य सम्बन्धी, पाठ्यक्रमहरु, नोबेलहरु गरेर सबैखाले पुस्तक उपलब्ध गराइएको हो । आगामी दिनमा थप दुई सय बढी किताब उपलब्ध गराउने क्लबको योजना छ ।

अरनिको माविका प्राधानाध्यापक बलराम चौलागाईंकाअनुसार विद्यालयमा पुस्तकालय कक्ष भए पनि पुस्तकहरु थिएनन् । ‘अहिलेसम्म लाइब्रेरीमा के छ र जाने भन्ने थियो । युवा साथीहरुबाट विभिन्न खाले पुस्तकहरु प्राप्त भएपछि अब विद्यार्थीमात्रै होइन शिक्षकलाई पनि लाइब्रेरी छिर्न सजिलो हुनेछ,’ उनले भने, ‘यसले विद्यार्थी भाइबहिनीमा पढ्ने बानीको विकासका साथै ज्ञान पनि बढ्नेछ ।’

‘पढ्ने र सिक्ने हरेक युवाको हक हो’ भन्ने मान्यताका आधारमा क्लबका युवाहरुले ‘प्रोजेक्ट शिक्षा’ ‘पुस्तकालय स्थापना’ ‘एक व्यक्ति एक पुस्तक’अभियान चलाइरहेका छन् । यसैक्रममा छाब्दीबाराही लियो क्लबले विद्यालयलाई सहयोग गरेको अध्यक्ष परियारले बताइन् । ‘पुस्तकालय स्थापनामार्फत युवाहरुले पढ्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । काठमाडौं नजिक भएर पनि दुरमा रहेको अरनिको माविलाई हामीले हाम्रो लाइब्रेरी हामी बनाउँछौ भन्ने उद्देश्यले बुक सहयोग गरेका छौं । यसले विद्यालयको पुस्तकालय चलायमान हुनेछ । शिक्षा र ज्ञानको केन्द्र बन्ने विश्वास छ,’ उनले भनिन् । पुस्तकालय सञ्चालनका लागि विद्यालयका पूर्वशिक्षक अनुप परियारले अभियान चलाएका थिए ।

लियो क्लब छाब्दीबाराहीको ११ सदस्यीय टोली विद्यालयमा पुगेर पुस्तकका साथै ८० जना विद्यार्थीलाई स्टेशनरी सामग्री पनि सहयोग गरेको छ । टोलीसँग म्युजिक ब्याण्ड गोर्खाली तक्मा नेपालका प्रतिनिधि पनि पुगेका थिए । विद्यार्थीहरुलाई संगीतमार्फत पढाईदेखि मित्रतासम्मका ज्ञानहरु सिकाउँदै आएको ब्याण्डले विद्यालयमा प्रस्तुति दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्