Logo

झलनाथको आग्रहः कम्युनिष्टहरुले कि नक्कली साईनबोर्ड फ्याँकिदिनुस्, नत्र मिटरब्याज पीडितलाई साथ दिनुस्



काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले श्रमजीवी वर्गको शोषण गरेर मुट्ठीभरका मानिसहरु रातारात धनी भइरहेका बताएका छन् । आज (आइतबार) मिटरव्याज पीडितहरुको प्रदर्शनलाई समर्थन गर्न पुगेका नेता खनालले यस्तो प्रकारको शोषणको ब्यवस्थालाई अन्त्य गर्नुपर्ने बताएका हुन् । नेता खनालले किसानहरुमाथि ब्यापक र बहुआयमिक शोषण हुँदा देशको अर्थतन्त्र संकटग्रस्त र जर्जर बनिरहेको बताए ।

उनले मिटरब्याज पीडित र किसानहरुको आन्दोलनमा साथ दिन नेपालका कम्युनिष्टहरुलाई आग्रह गरे । किसान र मिटरब्याज पीडितलाई साथ नदिने हो भने उनले नक्कली कम्युनिष्टहरुको साईनबोर्ड फ्याँकिदिन समेत भने ।

‘यो देशमा थुप्रै कम्युनिष्ट पार्टीहरु छन् । तपाईँ कम्युनिष्ट पार्टीहरु यो देशका श्रमजीवी जनताको पार्टी हो कि दलाल पुँजीपति वर्गको पार्टी हो ? यदि तपाईँहरु श्रमिक जनताको पार्टी हो भने आउनुस् मैदानमा, किसानहरुलाई साथ दिनुस्, मिटरब्याज पीडितहरुलाई साथ दिनुस् । होईन भने कम्युनिष्ट पार्टीका नक्कली साईनबोर्ड फ्याँकिदिनुस्,’– नेता खनालले भने । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्