Logo

पोर्चुगलको चुनावी अभियानमा दक्षिणपन्थी समूह बलियो



लिस्बन, १३ फागुन । पोर्चुगलको आधिकारिक चुनावी अभियान आइतबारदेखि सुरु हुँदैछ । मार्च १० मा हुने विधायिकी मतदानमा पपुलिस्ट पार्टीहरूले सफलता पाउने सम्भावना छ ।

करिब आधा शताब्दी लामो फासिवादी तानाशाही व्यवस्थाको अन्त्य गरी पचास बर्ष पहिले ‘कार्नेसन रिभोलुसन’मार्फत् स्थापित व्यवस्था अन्तर्गत चलेको पोर्चुगलमा हालै युरोपका अन्य ठाउँहरूमा सफलता हासिल गरेका दक्षिणपन्थी र संस्थापन विरोधी पार्टीहरू पछि पर्ने पुर्वानुमानहरू गरिएका छन् ।

सन् २०१९ मा एक फुटबलका पूर्व कमेन्टेटरद्वारा गठन गरिएको चेगा पार्टीे देशको राजनीतिक र आर्थिक अभिजात वर्गको एक प्रबल आलोचक बनेको छ र १५ देखि २० प्रतिशत मतको साथ भागेदारी बन्ने देखिएको छ ।

लिस्बन विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल साइन्सेजका राजनीतिशास्त्री एन्टोनियो कोस्टा पिन्टोले समाजवादी प्रधानमन्त्री एन्टोनियो कोस्टाको आश्चर्यजनक राजीनामाले चेगालाई सहयोग पुगेको बताउँछन् । उनले भने, “यो युरोपेली सङ्घमा भ्रष्टाचारको विषयले कट्टरपन्थी दक्षिणपन्थीको पक्षपोषण गरेको छ ।”

– अति दक्षिणपन्थी गठबन्धन –

इटाली, स्लोभाकिया, हंगेरी र फिनल्यान्डलगायत थुप्रै युरोपेली देशहरूमा अति दक्षिणपन्थी पार्टीहरूको नेतृत्वमा वा समावेशी गठबन्धनद्वारा सरकार सञ्चालित छन् । नेदरल्याण्ड्स गत नोभेम्बरमा भएको विधायिकी चुनावमा गीर्ट वाइल्डर्सको विजयपछि यो सूचीमा सामेल भएको छ ।

आप्रवासी विरोधी तर सधैं युरोपेली सङ्घ (ईयू) विरोधी नभएको चेगा सन् २०२२ को जनवरीमा पोर्चुगलमा भएको चुनावमा सात प्रतिशत मत र २३० सदस्यीय संसद्मा १२ जना सदस्यसहित देशको तेस्रो ठूलो राजनीतिक शक्ति बनिसकेको छ ।

चेगाका अध्यक्ष आन्द्रे भेन्टुराले मध्य–दक्षिणपन्थी सोसल डेमोक्र्याटिक पार्टी ९पीएसडी० लाई पोर्चुगलको सत्ताधारी सशक्त शक्तिबाट विस्थापित गर्ने लक्ष्य राखेका छन् ।

यद्यपि, अहिले पीएसडीलाई पछि पार्दै भेन्टुराले आफ्नो दललाई संसदमा बहुमतका साथ स्थापित गर्ने रणनीतिसाथ अघि बढे्का छन् । तर पीएसडी सत्तासिन समाजवादी पार्टीभन्दा अलि अगाडि लगभग ३० प्रतिशत मतको साथ आउने सर्भेक्षणले देखाएको छ ।

दुई साना रूढ़िवादी पार्टीहरूसँग गठबन्धन बनाएका पीएसडी नेता लुइस मोन्टेनेग्रोले तत्कालका लागि चेगासँग कुनै पनि गठबन्धनलाई अस्वीकार गरेका छन् ।

सोसलिस्ट पार्टीका कोस्टाका उत्तराधिकारी पेड्रो नुनो सान्तोसले मध्यदक्षिणपन्थीको नेतृत्वमा अल्पमतको सरकार गठन हुन नदिने बताएका छन्।

तर विश्लेषक कोस्टा पिन्टोका अनुसार ‘अति दक्षिणपन्थीहरूको वरिपरिको घेराले अन्य युरोपेली लोकतन्त्रहरूमा काम गरेको छैन, र पोर्चुगल अर्को उदाहरण हुनेछ’ ।

सन् २०१५ को अन्त्यदेखि प्रधानमन्त्री कोस्टाले सरकारको वित्तीय स्थितिमा सुधार गर्दै धेरै हदसम्म स्वस्थ अर्थतन्त्रको निरीक्षण गरेका थिए ।

आफ्नो कार्यालयमा लुकाइछिपाइ राखेको ७५ हजार ८०० युरो (८२ हजार अमेरिकी डलर) नगदसहित फेला परेका उनका आफ्नै चिफ अफ स्टाफसम्म पुगेपछि अन्तिम झट्का लागेको थियो ।

अनुसन्धानमा कोस्टाको नाम उल्लेख गरिएको थियो र उनले नोभेम्बरमा राजीनामा दिएका थिए । उनले नयाँ कार्यकालको लागि दावी नगर्ने बताएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot