Logo

संसद् भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि



काठमाडौँ, १३ फागुन । सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद मदनकुमारी शाहले भवन निर्माण आयोजनाको म्याद थपेर समय लम्बाउने काम मात्रै भएको, तर निर्माणमा भने उल्लेख्य प्रगति देखिन नसकेको बताइन् । उनले भनिन्, “संसद् भवन निर्माणमा निकै ढिलाइ भइरहेको छ । भवनमा नेपालको मौलिकता पनि झल्किएन ।”

सांसद नरपति लुवारले संसद् भवन राष्ट्रको अनुहार झल्किने ठाउँ भए पनि अहिले निर्माण भइरहेको संरचनाले नेपालको मौलिकता नझल्काएको बताए।

समितिको आजको बैठकमा सन्धिुलीगढी, जर्बुटा कला केन्द्र सिन्धुली, मकवानपुरगढी तथा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालयको स्थलगत अध्ययन, अनुगमन तथा अवलोकनसम्बन्धी प्रतिवेदन पेस भएको छ । सिन्धुलीगढीमा जाने सिँढीयुक्त बाटो धेरै उकालो भएकाले बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गमैत्री नबनेको निष्कर्ष प्रतिवेदनको छ । त्यस्तै, गढीमा रहेको ऐतिहासिक संरचनाको संरक्षण हुन नसक्दा महत्वपूर्ण पुरातात्विक महत्व हराउँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समिति सभापति मायाप्रसाद शर्माले सिन्धुलीगढी, मकवानपुरगढी र जर्बुटा कला केन्द्र सिन्धुलीको सङ्रक्षणका लागि तीन तहको सरकारको तालमेल हुन जरुरी रहेको बताए । उनले नयाँ गढीहरुको खोजी गर्दै त्यसको प्रचारप्रसारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागसँग छलफल गर्ने बताए ।रासस



प्रतिक्रिया दिनुहोस्