Logo

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरी सक्रियता



कञ्चनपुर, १४ फागुन । नदीजन्य पदार्थको अवैधरुपमा भइरहेको चोरीनिकासी रोक्न कञ्चनपुरमा प्रहरीले सक्रियता बढाएको छ । कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा प्रहरीले नदीजन्य पदार्थको अवैधरुपमा हुने उत्खनन र चोरी निकासी रोक्नका लागि सक्रियता बढाएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार चालु आवको हालसम्म नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न १८ वटा ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

कृष्णपुर नगरपालिकाबाट चार वटा र शुक्लाफाँटा नगरपालिकाबाट १४ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए । “नदीजन्य पदार्थको अवैधरुपमा चोरी निकासीमा संलग्न रहेका कारण नियन्त्रणमा लिएका ट्र्याक्टरलाई सम्बन्धित नगरपालिका कार्यालयमा बुझाएका छौँ”, उनले भने, “प्रचलित कानुनअनुसार नगरपालिकाले ट्र्याक्टर मालिकबाट जरिवाना असुलउपर गर्दै आएको छ ।”

शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको चोरी निकासीमा संलग्न रहने गरेका यस्ता ट्र्याक्टरबाट १५ हजार र कृष्णपुर नगरपालिकाले रु ५० हजारका दरले जरिवाना असुलउपर गर्दै आएको छ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले अवैधरुपमा नदीजन्य पदार्थ चोरीनिकासी गर्ने ट्र्याक्टरबाट दुई लाख र शुक्लाफाँटा नगरपालिकाले दुई लाख १० हजार रकम असुलउपर गरेको छ ।

कृष्णपुर नगरपालिकाले दोदा (मछेली) नदीमा हाल ठेक्का लगाई नदीजन्य पदार्थको उत्खननको काम गर्दै आएको छ । शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि हालैमात्रै ठेक्का आह्वान गरेको छ ।

नदीजन्य पदार्थ चोरीनिकासी रोक्नका लागि रातदिन निगरानी बढाउनु परेको शुक्लाफाँटा नगरपालिका– ८ का वडाध्यक्ष बहादुरसिंह महराले बताए । वडाको धारापानी, अनौखी, गौडी, घरकुटवा र वनहरा खोलाबाट नदीजन्य पदार्थको चोरीनिकासी हुने गरेको छ । “स्थानीय बासिन्दासँग समन्वय गरी चोरीनिकारी रोक्ने कार्य गरिरहेका छौँ”, उनले भने, “स्थानीयको सूचनाका आधारमा ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने गरेका छौँ, प्रहरीले जरिवानाका लागि नगरपालिका कार्यालयमा बुझाउने गरेको छ ।”

स्थानीय बासिन्दाका अनुसार शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि बोलपत्र आह्वान गरे पनि खोला क्षेत्रबाट आधाभन्दा बढी नदीजन्य पदार्थ चोरीनिकासी भइसकेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot