Logo

रोहितसहित ६ क्रिकेटरको तलब पुग्यो मासिक एक लाख, अन्य कसको कति?



काठमाडौं,१४ फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला क्रिकेट खेलाडीको सेन्टर कन्ट्र्याक्ट सार्वजनिक गरेको छ । क्यानको बैठकले पुरुषतर्फ ३० जना खेलाडीलाई सेन्टर कन्ट्र्याक्टमा समेटेको छ भने महिलातर्फ १९ जना छन् ।

क्यानका अनुसार कप्तान रोहित पौडेल, फास्ट बलरद्वय सोमपाल कामी र करण केसी, अलराउन्डर दिपेन्द्रसिंह ऐरी र दुवै ओपनर आसिफ शेख तथा कुशल भुर्तेल ग्रेड ए मा अटाएका छन् ।

यस्तै ग्रेड बी मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अभिनाश बोहोरा परेका छन् भने ग्रेड सी मा अर्जुन साउद, प्रतिश जीसी, सन्दीप जोरा र विनोद भण्डारी परेका छन् ।

यस्तै ग्रेड डी मा पवन सर्राफ, सागर ढकाल, अनिल साह, विवेक यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् । यी क्याटागोरीमा पर्न नसकेको हरेक प्रदेशबाट एक एक जना खेलाडीलाई इमर्जिङ क्याटागोरीमा समेटिएको छ ।

पुरुषतर्फ ग्रेड ए ले मासिक एक लाख, ग्रेड बी ले मासिक ७० हजार, ग्रेड सी ले मासिक ५५ हजार ग्रेड डी ले मासिक ३५ हजार र इमर्जिङले मासिक २५ हजार तलब पाउनेछन् ।

महिलातर्फ ग्रेड ए ले ५० हजार, ग्रेड बी ले मासिक ३५ हजार, ग्रेड सी ले मासिक ३० हजार , ग्रेड डी ले मासिक २५ हजार र इमर्जिङले मासिक २० हजार तलब पाउनेछन् ।

यस्तै महिलातर्फ इन्दु बर्मा, रुबिना क्षेत्री र सिता रानामगर ग्रेड ए मा छन् भने ग्रेड बी मा कविता कुँवर मात्र छिन् । पुजा महतो र अस्मिना कर्मचार्य ग्रेड सी मा छन् भने अप्सरी बेगम, कविता जोशी, संगिता राई, काजोल श्रेष्ठ र विन्दु रावल ग्रेड डीमा छन् । इमर्जिङ क्याटागोरीमा सोनी पाख्रिन, खुसि डंगोल, ज्योत्सनिका मरासिनी, कन्चन श्रेष्ठ, रुबि पोदार, सृस्टि जैसी, सम्झना कुमारी खड्का, सना प्रविन समेटिएका छन् ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot