Logo

अफगानिस्तानका विषयमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक बस्दै



काबुल (अफगानिस्तान), १४ फागुन । अफगानिस्तानको विषयमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठक आज (सोमबार) बस्ने भएको खामा प्रेसले जनाएको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको दोहा बैठकपछि अफगानिस्तान सम्बन्धमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्को यो पहिलो सत्र हो ।

टोलो न्युजका अनुसार अफगानिस्तानका लागि प्रस्तावित राष्ट्रसङ्घको दूतका सम्बन्धमा परिषद्को बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

सुरक्षा परिषद्को सत्रका क्रममा परिषद्ले दोहा बैठकको नतिजा र अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्तिबारे छलफल गर्ने स्रोतले सङ्केत दिएको छ ।

खामा प्रेसका अनुसार दोहा बैठक महासचिव गुटेरसको आयोजनामा फेब्रुअरी १८ र १९ मा भएको थियो । अफगानिस्तानको सङ्कटको समाधानका लागि राष्ट्रसङ्घका विशेष प्रतिनिधिको नियुक्ति राष्ट्रसङ्घ र केही अन्य क्षेत्रीय मुलुकबीच एउटा महत्त्वपूर्ण मुद्दा बनेको छ ।

यसका अतिरिक्त चीन, रुस र इरानले तालिबानको स्वीकृतिमा अफगानिस्तानका लागि नयाँ प्रतिनिधिको स्वीकृतिको शर्त राखेका छन् । यद्यपि तालिबानले विज्ञप्तिमार्फत सार्वजनिकरूपमा विशेष प्रतिनिधिको नियुक्तिको विरोध गरेको खामा प्रेसले बताएको छ ।

दोस्रो दोहा बैठकपछि महासचिव गुटेरेसले नयाँ राष्ट्रसङ्घीय प्रतिनिधिको नियुक्तिलाई लिएर तत्काल परामर्श सुरु हुने घोषणा गरेका छन्।

राष्ट्रसङ्घद्वारा अफगानिस्तानका लागि एक विशेष प्रतिनिधिको नियुक्ति यस क्षेत्रमा चलिरहेको सङ्कटलाई सम्बोधन गर्ने दिशामा महत्त्वपूर्ण कदम हो र यसले शान्तिपूर्ण समाधान खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई जोड दिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot