Logo

एमाले–माओवादी सहकार्यको हल्लाबीच चिनियाँ राजदूतको अस्वभाविक सक्रियता



काठमाडौं, १५ फागुन । राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा एमाले र माओवादी केन्द्रबीच सत्ता–सहकार्यको हल्ला चलेको छ । यसरी हल्ला चल्नुमा दुवै दलका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको निरन्तर भेटवार्ताले मलजल गरेको छ । खासगरी दुई नेताबीच टिआरसी विद्येयक टुँगो लगाउने विषयमा छलफल भैरहेको छ ।

एमालेले टिआरसीमा आफ्नो पूर्ववत अडान कायमै रहेको जनाएको छ । माओवादीले भने एमालेलाई समेत विश्वासमा लिएर यो विद्येयक टुँगो लगाउन चाहेको छ । बाहिर टिआरसीमा केन्द्रित रहेर दुई नेताबीच छलफल भएको भनिएपनि अन्तर्यमा भने सत्ता–सहकार्यको मिलनविन्दु पहिल्याउनु रहेको स्रोतको दाबी छ ।

दुई नेताबीच भेटवार्तामा दुवै दलका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् । एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ सक्रिय छन् भने माओवादीबाट वर्षमान पुन र शक्तिबहादुर बस्नेत सक्रिय छन् । पछिल्लो समय दुई नेताबीच सिंहदरबारमा भएको करिब दुई घण्टा लामो एक्लाएक्लै भेटवार्ताले सत्ता–सहकार्यको मिलनविन्दु पहिल्याएको स्रोतको दाबी छ । राष्ट्रियसभाको अध्यक्षमा माओवादीले दाबी गर्ने भएको छ ।

माओवादीलाई सो पदमा दाबी गर्न एमालेले नै प्रस्ताव गरेको बुझिएको छ । आज (मंगलबार) बसेको माओवादीको स्थायी कमिटी बैठकमा पनि राष्ट्रियसभाको अध्यक्षमा उम्मेद््वारी दिनेबारे नेताहरुको धारणामा एकमत थियो । सबैभन्दा चर्को स्वरमा त उपमहासचिव जनार्दन शर्माले दाबी गरेका छन् । माओवादीको मुभबारे थाहा पाएर कांग्रेस सभापति शेरबहादुर देउवा आँत्तिएका छन् ।

उनले महासमिति बैठकलगत्तै प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लगातार भेटवार्ता गरेका छन् । सो भेटमा देउवाले मन्त्रिपरिषद् पूनर्गठन गर्ने दाहालको प्रस्तावमा समेत सहमति जनाएको बुझिएको छ । रोचक त के भने राष्ट्रियसभाको अध्यक्षको फागुन २९ गते हुने निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादी नेतृत्वबीच निरन्तर सम्वाद हुनुले कतै वामपन्थी एक हुँदैनन् भन्ने संशय कांग्रेसमा देखिएको छ।

अहिले नेपालका लागि चिनियाँ राजदूत छन् सोङको पनि सक्रियता बढेको छ । आइतबार एमाले अध्यक्ष ओलीसँग बालकोटमा गोप्य भेटवार्ता गरेका चिनियाँ राजजदूतले हिजो (सोमबार) भने प्रधानमन्त्री प्रचण्डसँग दुई घण्टा लामो भलाकुसारी गरेका छन् ।

आजमात्रै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग उनको भेटवार्ता थियो । वामपन्थीहरु एकताको आवश्यकत्ताबारे बहस चलेकै समयमा चिनियाँ राजदूतको अस्वभाविक सक्रियताले नेपाली राजनीति तातिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्