Logo

एनआरएनए अध्यक्ष डा. केसी र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच भेटवार्ता



काठमाडौं, १५ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसंग भेटघाट गरेका छन् । अध्यक्ष केसीले राजदूत भोल्कसंग मंगलवार अष्ट्रेलियन दुतावासमा भेट गरेका हुन् ।

भेटमा गैरआवासीय नेपाली संघको अभियान, अष्ट्रेलियामा रहेको नेपाली समुदाय, नेपाली विद्यार्थीको समस्याका बारेमा छलफल भएको केसीको सचिवालयले जनाएको छ । त्यसैगरि, संघले कोसी प्रदेशमा आगामी जुनमा गर्न लागेको अन्तर्राष्ट्रिय चिया सम्मेलनका विषयमा समेत राजदूत भोल्कलाइ जानकारी गराएका थिए । ।

डा. केसीले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको तर्फबाट राजदुत भोल्कलाई त्यहाँ रहेका नेपाली विद्यार्थीहरुका समस्याका बारेमा अनुरोध पत्र हस्तान्तरण गरेका छन् । राजदूत भोल्कलाई बुझाएको पत्रमा नेपाली विद्यार्थीहरु र अस्थायी भिसा लिएर अष्ट्रेलिया जान चाहनेहरुको सहजिकरणको लागि काठमाडौंबाटै भिसा प्रदान गर्न अष्ट्रेलियाको भिसा कार्यालय पुनः स्थापना गर्न आग्रह गरिएको छ ।

त्यसैगरि, अष्ट्रेलियाको अर्थतन्त्रमा विशेषगरी शिक्षा क्षेत्रमा नेपालको महत्वपूर्ण योगदानको स्मरण गर्दै नेपालीहरुलाई लगानीको वातावरण बनाउन र ती लगानीहरुमा अनुदानको लागि सहयोग गरिदिन अष्ट्रेलिया सरकारसँग राजदूत मार्फत अनुरोध गरिएको छ।

यस्तै, संघले ’अष्ट्रेलिया – नेपाल’ बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन सांस्कृतिक कूटनीतिकको महत्त्वलाई जोड दिँदै अष्ट्रेलिया र नेपालबीच कला तथा सांस्कृतिक सम्बन्धको लागि सहकार्य गर्न समेत अनुरोध गरेको छ । भेटमा गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्