Logo

खोला सरसफाइ र पूजा गर्दै माझी समुदायले मनाए ‘लदी’पर्व



सिन्धुपाल्चोक, १६ फागुन । खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक लदी अर्थात् ‘कोशीपर्व’ मनाएका छन् । पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधानलगायतले शुभकामना व्यक्त गर्दै माझी समुदायको संस्कृति संरक्षणमा नगरले सहयोग गर्ने बताए ।

जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताए ।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो । रासस



प्रतिक्रिया दिनुहोस्