Logo

प्रचण्डको उत्तराधिकारी भन्दा विप्लवले भने–यो त राम्रै कुरा हो नि (भिडिओसहित)



काठमाडौं, १६ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राज्यका जिम्मेवार निकाय र त्यसका प्रतिनिधिहरुले जनताको पक्षमा काम नगरेको आरोप लगाएका छन् । अहिले देशमा दलाल पुँजीवाद हाबी भएको उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महासचिव विप्लवले मुठ्ठीभर मान्छेका स्वार्थका निम्ति कानून बनाउने कामपनि अहिले भैरहेको उनको गम्भीर आरोप छ ।

उनले अहिले गणतन्त्र जनताको तन्त्र अर्थात् व्यवस्था नभएको भन्दै यसको कार्यान्वयनको सवालमा प्रश्न उठाए । उनले आफूहरुले गणतन्त्रमात्र नभएर नौलो जनवादी गणतन्त्रको लागि सशस्त्र युद्ध गरेको स्मरण गराए । आफूहरुले त नौलो जनवादी गणतन्त्र हुँदै वैज्ञानिक समाजवादको यात्रामा जाने कुरा गरेको सुनाए । उनले जनयुद्धको बलमा नेपालमा गणतन्त्र आउन सम्भव भएको भन्दै यो उपलब्धि आफूहरुको लागि सफलता नै भएको दाबी गरे ।

अब जनताको गणतन्त्र बनाउने काम बाँकी रहेको भन्दै त्यहाँसम्म जान आफूहरु तयार रहेको सुनाए । उनले निराश हुनुपर्ने र आकाश खसेजस्तोको स्थिति नरहेको जिकिर गरे । उनले अहिले पत्रकारहरुले विप्लव माओवादीमा जाँदैछ भनेर भनेको कुरालाई पनि असहमति जनाए । उनले आफू माओवादी केन्द्रमा जाने भन्दापनि पार्टी एकता गर्ने विषय मूल रहेको बताए ।

उनले भने,‘माओवादीसँग एकता गर्ने नै हो । एकताको लागि पनि सबै पार्टीमा छलफल हुन्छ । पार्टीको केन्द्रीय समितिमा छलफल होला । प्रचण्ड र विप्लव मिलेर बनाईसके, अरुको त सबै खत्तम नै भयो भनेजस्तो नबनाउनुहोस ।’

पत्रकार धमलाले प्रचण्डको उत्तराधिकारी अब विप्लव नै हो ? भनेर सोधेको प्रश्नमा उनले भने–‘राम्रै कुरा हो नि त । हरेक नेतासँग एउटा आकांक्षा र सपना हुन्छन् नि, मसँग पनि छ । नेपाललाई नेतृत्व गरेर एउटा ठाउँमा पुर्याउँछु भनेर आकांक्षा नभईदिएको भए यो ठाउँमा हामी आउँदैन थियौं नि । तर, त्यसो भनेर साँठगाँठबाट या रहस्यमय तरिकाले वा गोप्य तरिकाले हुन्न नि ।’



प्रतिक्रिया दिनुहोस्