Logo

नागरिकता र राहदानी विवादमा परेका महासचिवलाई धमलाको प्रश्न, ‘तपाईँको सर्टिफिकेट पनि नक्कली छ कि ?



काठमाडौं, १७ फागुन । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले आफूसँग एउटामात्रै नागरिकता र राहदानी रहेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले नागरिकता हराएपछि प्रतिलिपी लिँदा विवरण फरक परेको र पुरानो नागरिकता भेटिएपछि विवरण सच्याइ पाऊँ भनी निवेदन दिएर पुरानै विवरण भएको नागरिकता लिएको उनले बताए । विवरण फरक परेको नागरिकता सोही समयमा जिल्ला प्रशासन कार्यालयले राखेको उनको दाबी छ । उनले अहिले आफूमाथि आएका समाचार र आरोपहरु बुझाइको कमी भएको बताए ।

‘मसँग एउटा नगारिकता छ, एउटा पासपोर्ट छ । समाचार बनाउनेहरुले बनाउँदा रहेछन् । तिलको पहाड बनाउने परिवेश अहिले देखिएको छ । मेरो नागरिकता हरायो । हराएपछि मैले प्रतिलिपी लिएँ । प्रतिलिपी लिने क्रममा विवरण फरक पर्यो ।’ महासचिव पाण्डेले भने, ‘पछि मेरो हराएको नागरिकता भेटिएपछि मैले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन दिएर हराएको भेटियो, विवरण फरक परेकोमा सच्याइ पाऊँ भनेर निवेदन दिए । मेरो हराएको र पछि बनेको नागरिकता जिल्ला प्रशासन कार्यालयले राख्यो । पुरानोको सट्टा भनेर मलाई अर्को नागरिकता दियो । कुरा यतिनै हो ।’

‘सर्टिफिकेट कति वटा छ ? नक्कली हो कि ?’ भनी पत्रकार धमलाले सोधेको प्रश्नमा उनले आफूसँग एसएलसीदेखि मास्टर्स गर्दासम्म धेरै सर्टिफिकेट रहेको बताए । सबै आफूले पढेरै प्राप्त गरेको उनले बताए । उनले आफूसँग कुनै पनि डकुमेन्ट नक्कली नरहेको बताए । आफू सत्यमा रहेको र कुनै अपराध नगरेको उनको भनाइ छ । आफूमाथि उठेको प्रश्नको जवाफ दिइसकेको उनले बताए । जोसुकै माथि पनि प्रश्न उठ्न सक्ने बताउँदै उनले प्रश्न सही हो कि होईन भन्ने ठूलो कुरा भएको उनको भनाइ छ । आफूमाथि उठेको प्रश्नमा कुनै सत्यता नरहेको उनले बताए ।

‘मैले एसएलसीदेखि मास्टर्स गर्दासम्म थुप्रै छन् । एसएलसी, आईए, ब्याचलर, मास्टर्सको छ, मास्र्टर्स तीनचोटी गरेको छु । तीन वटा छन् । सबै मैले पढेर नै प्राप्त गरेको हुँ । कुनै पनि विवाद छैन,’– उनले भने ।

साथै, संसद्मा कुनै दलको पक्ष विपक्षमा नरहेर निश्पक्षताका साथ काम गरेर देखाउने उनले प्रतिवद्धता ब्यक्त गरे । आफू सरकारी जागिरमा रहुन्जेल कुनै दलको पक्ष विपक्षमा नलागी निश्पक्ष भएर काम गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्