Logo

एमालेमा वाम गठबन्धनको पक्षमा विष्णु पौडेलको गृहकार्य, शंकर पोख्रेल विपक्षमा उभिए



काठमाडौं, १७ फागुन । नेकपा (एमाले) मा केपी शर्मा ओलीको उत्तराधिकारीको रूपमा हेरिएका नेताहरु शंकर पोख्रेल र विष्णु पौडेलबीच राजनीतिक शक्ति सञ्चयको लागि प्रतिष्पर्धा छ । बाहिर यी दुई नेताले व्यक्तिगत तहमा सुमधुर सम्बन्ध रहेको दाबी गरेपनि भित्री रूपमा भने कडा प्रतिष्पर्धा चलिरहेको चर्चा एमाले वृत्तमा छ ।

खासगरी पार्टीभित्रको आन्तरिक चुनावी प्रतिष्पर्धामा पनि पोख्रेल र पौडेल समूह आमनेसामने हुने गरेका छन् । नेकपाकालमा विष्णु पौडेलले शक्तिशाली महासचिव पद पड्काएर राजनीतिक फड्को मारेपछि एमालेभित्र नेतृत्वको लागि आकांक्षा राख्ने धेरै नेताहरु पौडेलको गतिमा ब्रेक लगाउनेगरि मोर्चाबन्दीमा जुटेको पनि चर्चा छ ।

०७९ को मंसिरमा निर्वाचनमा एक अर्काविरुद्ध गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा होमिएका एमाले र माओवादी ०७९ को पुष १० गते आश्चर्यजनक रुपमा सरकार मिलेर बनाउन पुगेका थिए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमालेको समर्थनमा नै पुष १० गते प्रधानमन्त्री बनेका हुन् ।

दाहाल नेतृत्वको सरकारमा एमाले महत्वपूर्ण मन्त्रालय लिएर सरकारमा गएको थियो । त्यतिवेला प्रधानमन्त्री दाहालपछिको वरियतामा उपप्रधान एवम् अर्थमन्त्रीको रुपमा विष्णु पौडेल थिए । पौडेलले एमाले–माओवादीसहितको गठबन्धनको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुले पनि सरकार गठनमा उनको भूमिकाको अन्दाज हुन्छ । एमाले–माओवादी गठबन्धन फागुन नबित्दै टुट्यो ।

राष्ट्रपतिको निर्वाचनलाई कारण देखाउँदै माओवादीले कांग्रेससँगको सहकार्य रोज्यो । कांग्रेसबाट रामचन्द्र पौडेल अहिले राष्ट्रपतिको कुर्सीमा आशिन छन् । कांग्रेस–माओवादीसहितको ०७९ को मंसिरको चुनावी गठबन्धन (अहिले जसपापनि थपियो) को सरकार छ । प्रधानमन्त्री दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भैसकेको छ । प्रधानमन्त्री दाहालले सरकारको एक वर्ष पूरा भएको अवसरमा मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्यसमेत गरेको हल्लाबीच अहिलेको सत्ता गठबन्धन भत्किन लागेको चर्चा छ ।

गत माघ ११ गते राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको प्रधानमन्त्री दाहालको निश्कर्ष छ । उनले कांग्रेसले यसअघि पनि कोशी प्रदेश सरकार गठनमा धोका दिएको गुनासो गर्ने गरेका छन् । मन्त्रिपरिषद् पूनर्गठनमा कांग्रेस सभापति शेरबहादुर देउवाबाट आशातित सहयोग नपाएपछि दाहालले सत्ता–सहकार्य तोड्ने मनशाय बनाएर एमाले नेतृत्वसँग सम्वाद थालेका छन् ।

एमाले र माओवादीबीच सत्ता–सहकार्यको लागि दुवै दलका दोस्रो तहका नेताहरु सक्रिय छन् । एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ सक्रिय छन् भने माओवादीबाट वर्षमान पुन । यो बीचमा ओली र प्रचण्डबीच पनि निरन्तर सम्वाद भैरहेको छ । कांग्रेस महासमिति बैठकका निर्णयबाट ओली र प्रचण्ड दुवै झस्किएको र वामपन्थीहरुबीच सहकार्य जरुरी रहेको निश्कर्षमा पुगेका छन् ।

महासमिति सदस्यहरुले अभियान नै चलाएर हिन्दूराष्ट्रको एजेण्डा जोडदार रुपमा उठाएपछि ओली र प्रचण्ड कांग्रेस पछि फर्किन खोजेको निश्कर्ष निकालेका छन् । प्रचण्ड त चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णयबाट बिच्किएको बताईएको छ । यद्धपी माओवादीले पनि ०८४ को निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने र एक्लै चुनाव लड्ने निश्कर्ष निकालेको छ । राष्ट्रियसभाको अध्यक्षको लागि यही फागुन २९ गते निर्वाचन हुँदैछ । त्यसको लागि दलहरुले उम्मेद्वार चयनको प्रक्रिया थालेका छन् ।

माओवादीले स्थायी कमिटीबाट हिजो (बुधबार) मात्रै राष्ट्रियसभाको अध्यक्षको लागि उम्मेद्वारी दिने निर्णय गरिसकेको छ । माओवादीको निर्णयलाई लिएर कांग्रेसभित्र तरंग पैदा भएको छ । खासगरी राष्ट्रियसभाको माघ ११ गते सम्पन्न निर्वाचनअघि नै सत्ता गठबन्धनमा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अघि सार्ने समझदारी भएको चर्चा छ ।

एमालेले पनि राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मुखमा नै सत्ता–सहकार्यको लागि प्रधानमन्त्री दाहालसँग सम्वाद जारी राखेको छ । कतिपयले यसलाई एमालेले सत्ता गठबन्धन टुटाउनको लागि ढोक्सा थापेको भनेर पनि टिप्पणी गरेका छन् । एमालेकै नेताहरुले भने संवैधानिक परिषद्मा शक्ति सन्तुलन हुनुपर्ने भन्दै माओवादीलाई राष्ट्रियसभाको अध्यक्ष दिनुपर्ने आवाज उठाउन थालेका छन् ।

अहिले एमालेभित्र वाम गठबन्धनको बारेमा महासचिव पोख्रेल र उपाध्यक्ष पौडेलबीच टकराव देखिएको छ । पौडेल वामपन्थीहरु मिलेर जानुपर्ने पक्षमा छन् । उनले सोहीअनुसार भेटवार्तालाई तिव्रता दिएका छन् । तर, पोख्रेलले भने वाम गठबन्धनको लागि अहिले एमालेले नसोचेको भन्दै पहल नगर्ने सार्वजनिक रुपमा बोल्न थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्