Logo

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको ल्होछार मेला मन्त्री किरातीले उद्घाटन गर्ने



काठमाडौं, १७ फागुन । राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशको आयोजनामा तीन दिने बृहत ल्होछार मेला तथा विविध सांस्कृतिक कार्यक्रमको हुने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत आगामी फागुन २४, २५ र २६ गते हायत होटलको प्राङ्गनमा कार्यक्रम हुने जानकारी गराइएको हो ।

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दाबा फिन्जोले ल्होसारलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । सबै पर्वहरुलाई उत्तिकै सम्मान गर्न आवश्यक रहेको उनले बताए ।

ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ र खेलकुदमन्त्री डिगबहादुर लिम्बु कार्यक्रममा सहभागी हुने उनले बताए ।

अन्तिम दिन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन कार्यक्रमा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होसार मेला आयोजना गरिएको उनले बताए ।

उक्त कार्यक्रममा स्थानीय उत्पादनको स्टलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछालगायत स्टलमा राखिने जनाईएको छ ।

राष्ट्रिय संगीतकर्मी संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष प्रकाश कटुवाल र नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले ल्होछार महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट, राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खातीलगायतको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्