Logo

दाताको सहयोगमा सुविधासम्पन्न आँखा अस्पताल भवन



चितवन, १७ फागुन । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।

भवन निर्माण समितिका संयोजक एवं सङ्घका पूर्वसभापति चिजकुमार मास्केका अनुसार रु २० करोड १५ लाख २२ हजार लागत अनुमान गरी निर्माण थालिएको भवन १३ करोड ५० लाखमा निर्माण गरिएको हो । उनका अनुसार नवनिर्मित भवनको पहिलो तलामा बाल आँखारोग बहिरङ्ग विभाग, दोस्रो तलामा अन्तरङ्ग विभाग र तेस्रो तलामा चारवटा मोडुलर शल्यक्रिया कक्ष रहेका छन् ।

विसं २०७८ फागुनमा निर्माण सुरु गरिएको सो भवन आउँदो शुक्रबार उद्घाटन गरिने कार्यक्रम छ । स्वदेशी तथा विदेशी दातृ संस्था, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएकोे हो । उनले भने, “भवन निर्माणका लागि आठ करोड ५० लाख ७३ हजार पाँच सय ५७ चन्दादाता, दातृ तथा विभिन्न संस्थाहरूबाट प्राप्त भएको हो । अपुग रकम अस्पतालले व्यहोरेको थियो ।”

उक्त आँखा अस्पतालका तीनवटा शाखा अस्पताल, १८ वटा प्राथमिक आँखा उपचार केन्द्र छन् । ती शाखा, केन्द्र र मुख्य अस्पतालबाट गरी दैनिक आठ सय हाराहारीमा बिरामीले सेवा लिँदै आएको सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेकामा १० हजारभन्दा बढी शल्यक्रिया हुने गरेको छ । अस्पतालले ठोरीबाट भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

उक्त अस्पतालले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका आठवटा जिल्लामा सेवा पुर्याउँदै आएको छ । विसं २०४४ चैत १८ गते स्थापना भई सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालले अहिले उपचारात्मक, अनुसन्धानात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

सभापति श्रेष्ठले भने, “भवन निर्माणसँगै सेवालाई अझै प्रभावकारीरूपमा अघि बढाउने योजनामा रहेका छौँ ।” उक्त अस्पतालमा आँखासम्बन्धी स्नातकोत्तरसम्मको पढाइसमेत हुँदै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्