Logo

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट



काठमाडौँ, १७ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपतिले व्यापार विस्तार एवं विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताए । “तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु ” उनले भने, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन गरी यी समुद्री बन्दरगाहबाट पारवहन सहयोग प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ ।”

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् क्षमता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताए । “सन् २०१८ मा नेपाल र बङ्गलादेशबीच विद्युत् सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने महत्वपूर्ण कोसेढुङ्गा हो,” उनले भने, “बङ्गलादेश सरकारले हालै भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकामा हामी खुसी छौं ।”

उनले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बङ्गलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बङ्गलादेशको प्रस्ताव उत्साहजनक रहेको बताए ।

“म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बङ्गलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ, ” उनले भने, “नेपाल र बङ्गलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने लोकप्रिय धेरै पर्यटकीय गन्तव्य छन् । बङ्गलादेश नेपालका लागि पर्यटकको महत्वपूर्ण स्रोत देश पनि हो ।”



प्रतिक्रिया दिनुहोस्