Logo

‘पत्रकारितालाई जिम्मेवार बनाउन सामयिक कानुन’



नगरकोट (भक्तपुर), १८ फागुन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारितालाई सक्षम, सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन समय सुहाउँदो कानुनको आवश्यकता औँल्याएकी छिन् ।

सरकारले ल्याउन लागेको सामाजिक सञ्जालसम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र आमसञ्चारसम्बन्धी विधेयकलाई केन्द्रित गरेर आज यहाँ आयोजित छलफलमा उपसभामुख रानाले संविधानले नै प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै कानुन निर्माणका क्रममा जनप्रतिनिधिले ख्याल गर्नुपर्ने बताइन् ।

देशमा प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै रानाले संविधानले गरेको व्यवस्थाबमोजिम स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, गोपनीयताको हक सुनिश्चित हुने गरी मिडियासम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिइन् ।

“हामी कानुन निर्माण गर्ने जनप्रतिनिधिले यस्ता विषयमा गम्भीर घनीभूत छलफल गर्न अपरिहार्य छ”, उनले भनिन्, “यी विषयमा अन्तर्राष्ट्रियस्तरमा के कस्ता प्रतिबद्धता जनाएको छ भन्ने कानुन बनाउने बेला ख्याल नगर्ने, नागरिक अधिकारलाई सङ्कुचित गर्ने किसिमले ऐन कानुन बनिरहेका छन् कि रु हामी संवेदनशील बनेर ख्याल गर्नुपर्छ ।”

उपसभामुख रानाले सूचना र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले नै ग्यारेन्टी गरेको भन्दै राज्यले कानुन बनाएर बाँध्न खोजे पनि प्रविधिको विकासले हनन गर्न सम्भव नभएको बताइन् । नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता, देशको परिवेश र प्रविधिको विकासलाई समेटेर कानुन बनाउनुपर्ने उनको सुझाव थियो ।

“मौलिक हक तथा अधिकारलाई कायम राख्ने कानुन, नीति र प्रक्रिया तर्जुमा, समीक्षा र कार्यान्वयन गर्न यस कार्यक्रमले आवश्यक ज्ञान र स्रोत प्रदान गर्नेछ । जसले अझ खुला लोकतान्त्रिक र पारदर्शी समाज निर्माणमा योगदान पु¥याउनेछ”, उनले भनिन् ।

इन्टर पार्लियामेन्ट युनियन (आइपीयु) को मानवअधिकार कार्यक्रम व्यवस्थापक रोगिर हुइजेन्गाले अभिव्यक्ति स्वतन्त्रता मानवअधिकारको आधारभूत विषय भएको भनाइ राखे । हुइजेन्गाले अन्तर्राष्ट्रिय अभिसन्धिअनुसार नेपालले कानुन बनाउने र कार्यान्वयनबाट अभिव्यक्ति स्वतन्त्रता संरक्षण गर्ने प्रतिबद्धता जनाएको भन्दै कानुन निर्माणमा संसद्ले यसलाई सम्बोधन गर्नुपर्ने बताए । नेपालको अभिव्यक्ति स्वतन्त्रता कानुन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन आइपियुले सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आयोजना गरेको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको अधिकार र पत्रकारको सुरक्षा विषयक कार्यक्रममा सङ्घीय संसद्का २० भन्दा बढी सांसद सहभागी छन् । कार्यक्रममा युनेस्कोका अभिव्यक्ति स्वतन्त्रता विज्ञ गुइलहर्मे कनेलाले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी र क्षेत्रीयस्तर अभ्यासबारे प्रस्तुति दिएको थियो भने नेपालको सन्दर्भमा सन्तोष सिग्देलले प्रकाश पारेका थिए।

कार्यक्रममा आयरल्यान्डका सांसद जेम्स ललेस, अन्तर्राष्ट्रिय विज्ञ प्रा जोन बाराटाले पनि अभिव्यक्ति स्वतन्त्रता, सञ्चार कानुनसम्बन्धी प्रस्तुति दिने कार्यतालिका छ । रासस/File photo



प्रतिक्रिया दिनुहोस्