Logo

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई छाड्ने देउवाको ग्रिन सिग्नल, मन्त्रिपरिषद् पनि पूनर्गठन हुने



काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । पछिल्लो समय कांग्रेस र माओवादी केन्द्रबीच सम्बन्धमा दरार आएको हल्लाबीच देउवाले गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहालको निम्तो मान्न चितवन पुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।

सत्ता गठबन्धनका प्रमुख घटकहरु कांग्रेस र माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्षमा आ–आफ्नो दाबी गरेका छन् । राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसको धोकाको कारण कोशी प्रदेशमा आफ्नो उम्मेद्वार हारेको भन्दै माओवादी नेतृत्व कांग्रेससँग रुष्ट छ । कांग्रेसको महासमिति बैठकमा गठबन्धन नगर्ने निर्णय गरिनु र जनयुद्धबारे अपमानजनक ढंगले सदस्यहरु प्रस्तुत भएकोमा पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रुष्ट छन् ।

उनले यो विषयमा आफ्नो असहमति सार्वजनिक रुपमै राख्न थालेका छन् । कांग्रेससँगको सहकार्यमा सोच्नुपर्ने बताउँदै आएका प्रचण्डले हिजो भरतपुर विमानस्थलमा परिस्थिति फेरिएको भन्दै सहकार्यको निरन्तरतामाथि प्रश्न उठाएका छन् । योबीचमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका छन् ।

ओली र दाहालबीच सत्ता–सहकार्यलक्षित भेटवार्ता भैरहेको दाबी गरिएको छ । कांग्रेस नेतृत्व तहमा माओवादीले गठबन्धन छोडेर एमालेसँग गठबन्धन गर्न लागेको विषयमा उच्चस्तरको छलफल भएको छ । सो छलफलमा राष्ट्रियसभाको अध्यक्ष माओवादीलाई दिन सकिनेबारे समझदारी बनेको बनाईएको छ । यस्तै, प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद पूनर्गठनको लागि देउवालाई तारन्तार भनिरहेका छन् । तर, देउवाले यसमा आलटाल गरेको प्रचण्डको गुनासो छ ।

अहिले देउवा मन्त्रिपरिषद् पूनर्गठनको लागि पनि तयार भएको बुझिएको छ । प्रधानमन्त्री दाहालले सम्भवतः एक/दुई दिनभित्रै मन्त्रिपरिषद् पूनर्गठन गर्नेगरि तयारी थालेका छन् । अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा कांग्रेस र माओवादी केन्द्रबीच गृह र अर्थ मन्त्रालयको नेतृत्व साटफेर गर्ने पनि समझदारी बनेको बताईएको छ । कांग्रेसबाट गृहमन्त्रीमा प्रकाशमान सिंहको नाम चर्चामा छ भने अर्थमन्त्रीमा माओवादीबाट वर्षमान पुनको नाम चर्चामा छ । file photo



प्रतिक्रिया दिनुहोस्