Logo

चाबहिल जुत्ताचप्पल व्यापार मेलामा ग्राहकहरुको उपस्थिति उल्लेख्य, ११ दिनका लागि थपियो समय



काठमाडौं, १८ फागुन । चाबहिल जुत्ताचप्पल ब्यापार मेलाको अवधि थप गरिएको छ । चाबहिल जुत्ताचप्पल व्यापार मेलाका आयोजक गंगा श्रेष्ठले गत माघ १८ गतेदेखि सुरु भएको उक्त मेला ग्राहकहरुको आकर्षण देखिएकाले समयावधि थप गरिएको बताए । मेला फागुन २९ गतेसम्म जारी रहने उनले बताए ।

‘हामीले माघ १८ देखि फागुन १८ सम्म मेला आयोजना गरेका थियौं । चाबहिल चुच्चेपाटी बसस्टपस्थित पासाङल्हामु शालिक पछाडि खुल्ला चौरमा आयोजना गरेको मेलामा स्थानीयबासीहरुको आकर्षण देखियो । केही समय मेला थप गर्दा यहाँका स्थानीय बासीहरु अझ बढी लाभान्वित हुने विश्वासका साथ हामीले मेला समय थप गरेका छौं । अब मेला फागुन २९ गतेसम्म चल्छ,’– आयोजक श्रेष्ठले भने ।

स्वदेशी प्रतिष्ठित जुत्ताचप्पल उद्योगहरुको संयुक्त आयोजनामा मेला भइरहेको छ । १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ताचप्पलहरु मेलामा बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । उक्त मेलामा ८ हजार मोडलका जुत्ताचप्पल उपलब्ध रहेको श्रेष्ठले बताए ।

मेलामा सहभागी भएर जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुले६० प्रतिशतसम्म छुट पाउने उनले बताए । उत्पादक कम्पनीहरुले नै मेला आयोजना गरेकाले मूल्य सस्तो पर्ने उनको भनाइ छ ।

मेलामा सबै उमेर समूहका लागि उपयुक्त हुने एक हजारभन्दा बढी डिजाइनका जुत्ताचप्पलहरु उपलब्ध रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्