Logo

संयुक्त राष्ट्रसंघीय वातावरणीय सम्मेलनमा भाग लिएर मन्त्री महतो स्वदेश फर्किए



काठमाडौं, १९ फागुन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो स्वदेश फर्किएका छन् । केन्याको नाइरोबीमा २६ फेब्रुअरीदेखि मार्च १ सम्म आयोजना भएको संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलन (युएनईए–६) मा सहभागी भएर मन्त्री महतो आज (शनिबार) अपरान्ह काठमाडौं ओर्लिएका हुन् ।

मन्त्री महतोलाई काठमाडौंस्थित् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव डा. दीपक खराल, मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगाना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगाना, राष्ट्रिय प्रकृति तथा संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारी, मन्त्री महतोका सचिवालय सदस्यहरु र मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए।

विमानस्थलमा मन्त्री महतोले उक्त सम्मेलन फलदायी भएको भन्दै आफ्नो भ्रमण सफल भएको विश्वास दिलाए । सम्मेलन बहुपक्षीयताले मानव समूदायले आजको दिनमा भोगिरहेको जलवायु परिवर्तन, प्रदुषण र जैविक विविधताको हानीको संकट सामना गर्न कसरी मद्दत गर्नसक्छ भन्नेमा केन्द्रित रहेको मन्त्री महतोको भनाई थियो ।

मन्त्री महतोले उक्त सम्मेलन विश्वभरिका सरकार, नागरिक समाज समूह, वैज्ञानिक समुदाय र निजी क्षेत्रको लागि वैश्विक वातावरण नीति (global environmental policy) तय गर्न महत्वपूर्ण अवसर बनेको पनि सुनाए । सप्ताहव्यापी सम्मेलनमा १९० देशहरूबाट झण्डै ६ हजार व्यक्तिहरूले भाग लिएका थिए । युएनईएले मानवता र प्रकृतिबीच सद्भाव पुनर्स्थापना गर्न मद्दत गर्ने लक्ष्य राखेको छ ।

मन्त्री महतोले सो सम्मेलनमा नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा नेपालले हाँसिल गरेका उपलब्धिबारे विश्वस्तरीय पहिचान भएकोमा खुशी व्यक्त गरेका थिए । एसेम्बलीको उद्घाटन सत्रमा मन्तव्य राख्दै मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्ने युएन सिस्टम, डब्लुडब्लुएफलगायत दातृ संस्थाप्रति आभार व्यक्त गरेका थिए ।
सो क्रममा मन्त्री महतोले आफूहरु सबैले मिलेर काम गर्दा संयुक्त राष्ट्रसंघको ‘पारिस्थितिक प्रणाली पुनर्स्थापनाका दशक’ कार्यक्रममा सफलता मिलेको उल्लेख गर्दै यस्तो सफलताले मानव–वन्यजन्तु द्वन्द्वमा चुनौतीहरू पनि खडा गरेको पनि स्मरण गराएका थिए ।

यस्तै, उनले बासस्थानको पुनर्स्थापनाको परिणामस्वरूप नेपालले पछिल्ला दशकमा बाघ र गैँडाको संख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएकोबारे उक्त विश्वमञ्चमा जानकारी गराएका थिए । देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित् गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेको पनि मन्त्री महतोको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्