Logo

राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः मन्त्री किराती



काठमाडौं, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान शत्रु गरिबी, बेरोजगारी, अशिक्षा र रोग भएको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताए ।

मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य गर्नमा सरकार लागिपरेको जानकारी दिए । “देशमा सुशासन कायम नभएसम्म शत्रुको रुपमा देखा परेको गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न सकिँदैन”, उनले भने,“देशमा अहिले साझा समस्याका रुपमा देखिएका गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न राष्ट्रिय सरकार आवश्यक छ । वर्तमान गठबन्धनलाई अझ बलियो बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । अनिमात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।”

मन्त्री किरातीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए । गठबन्धन निर्माण गर्दा जनतालाई देखाइएको सपना पूरा गर्नका लागि पनि वर्तमान गठबन्धन सरकारलाई कायम राख्नुपर्ने उनले बताए ।

देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धि निर्माणको बाटो प्रारम्भ गर्नका लागि स्थायी सरकार आवश्यक रहेको मन्त्री किरातीले दाबी गरे । नेपालको संविधानले अङ्गिकार गरेअनुसार सबै राजनीतिक दल मिलेर वर्तमान सरकारलाई स्थायित्व दिनुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot