Logo

जनार्दन कतार हुँदा वर्षमानको हतार, अब एमाले-रास्वपासहितको माओवादी सरकार



काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) भित्र शक्ति–संघर्षमा रहेका उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा सत्ता गठबन्धन भत्काउने र जोगाउने कित्तामा उभिने नेताहरुको रुपमा परिचित छन् । ०७९ को पुष १० गते एमाले–माओवादीसहितको नयाँ गठबन्धन बन्दा वर्षमानको भूमिका र सक्रियताको चर्चा थियो । तर, दुई महिना बित्न नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेको साथ छोडेर कांग्रेससँग गठबन्धन गर्दा फेरि जनार्दनको सक्रियताको चर्चा चलेको थियो ।
एमालेसँगको माओवादीको गठबन्धन टुटेको ठीक एक वर्ष बित्नेबित्तिकै फेरि एमाले–माओवादीबीच सहकार्यको नवीन समझदारी बनेको छ । एमालेसँग सत्ता–सहकार्यको लागि माओवादीबाट यसपटक पनि उनै वर्षमानले भूमिका खेलेका हुन् । उनी अहिले एमाले–माओवादी नेतृत्व तहका बैठकमा प्रशस्तै देखिन थालेका छन् ।
रोचक त के छ भने पार्टीभित्र प्रचण्डपछिको नेतृत्वमा वर्षमान र जनार्दनबीच नै प्रतिष्पर्धा छ । अहिले कांग्रेससँगको माओवादी गठबन्धन भत्किँदा जनार्दन शर्मा भने पार्टीको प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्चको कार्यक्रममा भाग लिनको लागि कतारमा थिए ।
जनार्दन कतारमा हुँदै यता वर्षमानले एमालेसँग सहकार्यको लागि हतार गरेको पनि माओवादी केन्द्रको नेतृत्व तहमा चर्चा छ । कांग्रेस र माओवादीको सरकार हुँदा जनार्दनले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । अब एमालेसहितको नयाँ गठबन्धनको सरकारमा भने वर्षमानले अर्थ मन्त्रालय सम्हाल्ने चर्चा छ । पुन यसअघि पनि अर्थमन्त्रालयको नेतृत्वमा पुगिसकेका व्यक्ति हुन् । माओवादी केन्द्रनिकट उच्च स्रोतकाअनुसार जनार्दन कतारमै रहेको बुझिएको छ । उनको नियमित मोवाईल पनि स्विच–अफ छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot