काठमाडौं, फागुन २२ । थानकोट–चित्लाङ जोड्ने प्रमुख सडक गणेशमान सिंह मार्गको सेतो पहरा क्षेत्रमा सेतीदेवीको मन्दिर स्थापना गरेर भित्तामा ऐना झुण्ड्याउन थालिएको छ। गत पुष २८ गते भएको जीप दुर्घटनामा एकै परिवारका तीनसहित पाँच जनाको ज्यान गएपछि यस सडकको दुरावस्थाको विषयले सडकदेखि सदनसम्म चर्चा चुलिएको थियो।
विश्वभक्त बाबा नाम गरेका एकजना साधकले सो सडक खन्नुपूर्व क्षमा पूजा नगरिएकोले ती क्षेत्रमा अप्रिय घटना घटिरहेको भन्दै सेतो पहरा क्षेत्रमा सेतीदेवीको मन्दिर बनाई ऐना चढाउन दिएको सुझावको आधामा सेतीदेवीको मन्दिर स्थापना गरेर सवारी चालक तथा यात्रुहरुले ऐना झुण्ड्याउन थालेका हुन् ।
कुनै क्षेत्रमा दोष देखिएमा व्यक्तिको ध्यान वीकेन्द्रित हुने भएकोले ऐनाको प्रकाशले ध्यान केन्द्रीत गर्न सहायता समेत पुग्ने विश्वाससहित सोमबार सेतो पहरा क्षेत्रमा सेतिदेवीको मन्दिर समेत स्थापना गरिएको छ ।
बीपी राजमार्गस्थित सिन्धुलीको सुनकोसी गाउँपालिका५ रिट्ठेभिरको भित्तापनि सेती देवीको नाउँमा हजारौं ऐना टाँसिएका छन् । उक्त क्षेत्रमा दुर्घटना बढेपछि साधकहरूको भनाइमा सो क्षेत्रमा सेतीदेवीको स्थान रहेको र ऐना चढाए देवीले शक्ति प्रदान गरि दुर्घटना टर्ने विश्वास स्थानीयसहित यात्रुले गर्दै आएका छन् ।
केन्द्रीय राजधानीबाट प्रदेश राजधानी जोड्ने छोटो दूरीको सडक मार्गको अवस्थाका विषयमा सवत्र चासो र चिन्ता व्यक्त हुन थालेपछि अर्थ मन्त्रालयले गत माघ महिनामा स्रोत सुनिश्चित गरेर ६ करोड रुपैयाँ विनियोजन गरेपछि हाल उक्त सडकको मर्मतको कार्य जारी छ ।