काठमाडौं, २२ फागुन । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सहकार्य थालेका छन् । यसरी एमालेसहितको नयाँ गठबन्धन थाल्दा प्रधानमन्त्री दाहाललाई यसअघि सरकारमै रहेका जसपा र जनमत पार्टीको पनि साथ रहने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव त नयाँ समिकरण बनाउने दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली सम्मिलित बैठकमा नै सहभागी थिए ।
हिजोमात्रै नयाँ गठबन्धनमा रहेका चार दलबीच ८ बुँदे सहमति भएको छ । जसमा यादवको पनि हस्ताक्षर छ । उता, सिके राउत नेतृत्वको जनमतले पनि नयाँ समिकरणमा जान इच्छा देखाएको छ । बालुवाटारमा निर्णायक सहमतिको लागि जानुअघि एमाले अध्यक्ष ओलीले राउतलाई बालकोटमा बोलाएर छलफल गरेका थिए ।
तर, गठबन्धन बनाउन सुरुदेखि नै साथ दिएका उपेन्द्रको अडान र राउतको शर्तको कारण अहिले प्रधानमन्त्री दाहाल सकसमा परेका छन् । खासगरी यादवले संघीय सरकारमा सहभागितालाई केही पर धकेल्नुमा मधेश प्रदेश सरकारको नेतृत्वमा आफ्नो दलको निरन्तरतामा सुनिश्चित्ता खोजेका छन् । राउतले पनि मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।
यी दुई नेताबीच सम्बन्धमा हार्दिकता छैन् । भर्खरै जनमत मधेश सरकारबाट बाहिरिएको थियो । अहिले दुवै नेताले मधेश प्रदेश सरकारलाई मुख्य एजेण्डा बनाउँदा प्रधानमन्त्री दाहाललाई तनाव भएको छ । गठबन्धनको आज अपरान्ह बस्ने बेठकले यसमा सहमति जुटाउने बालुवाटार स्रोतको दाबी छ । file photo