Logo

जुली र ज्वालामध्ये एक मन्त्री बन्ने पक्का



काठमाडौं, २२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका छन् । पहिलो चरणमा पार्टीबाट प्रमुख सचेतकको जिम्मेवारीमा रहेका पदम गिरीलाई सरकारमा पठाएका छन् । गिरीले हिजो (साँझ) नै पद तथा गोपनियताको शपथ लिइसकेका छन् ।

सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्नेबारे पनि बहस एमालेभित्र सुरु भएको छ । खासगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारमा पार्टीको नेतृत्व गर्ने चर्चा छ । एमालेले कति र कुन कुन मन्त्रालय पाउने भन्नेपनि टुँगो लागेको छैन् । त्यसको लागि नयाँ गठबन्धनमा सम्मलित चार दलका चार नेता सम्मलित कार्यदलको बैठकले टुँगो लगाउने भनिएको छ ।

कार्यदलको बैठक अहिले बालुवाटारमा जारी रहेको भनिएको छ । एमालेमा मधेशबाट प्रत्यक्ष निर्वाचन जित्ने महिला नेताहरुमा जुलीकुमारी महतो र ज्वाला साह हुन् । जुलीले धनुषा ३ बाट चुनाव जितेकी हुन भने ज्वालाले बारा ३ बाट चुनाव जितेकी हुन् । अब मन्त्रिपरिषद् विस्तार हुँदा एमालेबाट यी दुईमध्ये एक जना मन्त्री बन्ने पक्का रहेको पार्टी वृत्तमा चर्चा छ ।

ज्वाला यसअघि गत वर्ष पुस १० मा बनेको सरकारमा पनि केही समयका लागि कृषि मन्त्री बनेकी थिईन् भने जुली तत्कालीन केपी ओली सरकारमा महिला बालवालिका तथा जेष्ठनागरिक मन्त्री बनेकी थिईन् । जुली र ज्वाला एमाले अध्यक्ष केप शर्मा ओली निकटका नेतृ हुन् ।

एमालेबाट गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ज्वाला, जुलीसहित भगवती चौधरी र विद्या भट्टराईले प्रत्यक्षतर्फ चुनाव जितेका थिए । मधेश प्रदेशमा ०७४ को निर्वाचनमा अत्यन्तै कमजोर देखिएको एमाले यसपटक पहिलो दल बनेको छ । मधेशबाट निर्वाचित प्रत्यक्षतर्फका यी दुई महिलो नेतृमध्ये एक जनाले यसपटक मन्त्री बन्ने अवसर पाउनसक्ने सम्भावना प्रवल रहेको बालकोट स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्