काठमाडौं, २३ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एकाएक राजनीतिको केन्द्रविन्दुमा परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि माधव नेपालसँग भेटवार्ता गरिसकेका छन् । तत्कालिन नेकपाको विवाददेखि एमाले विभाजनसम्म फरक कित्तामा उभिएका माधव नेपाल र केपी ओली हिजो पहिलो पटक औपचारिक रुपमै भेटवार्तामा सरिक भएका हुन् । ओली नै माधव नेपाल भेट्न कोटेश्वर पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससहितको गबठन्धन तोडेर एमाले, रास्वपा र जसपाको साथ लिएर नयाँ गठबन्धन बनाएका छन् । तर, कांग्रेसको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाउँदा आफूलाई सुईंको पनि नदिएको भनेर माधव नेपाल प्रचण्डसँग बिच्किएका छन् ।
उनी नयाँ सत्ता समिकरणमा समावेश हुन पछि हटेपछि प्रधानमन्त्री दाहाल र ओलीको दौडधुप कोटेश्वरतर्फ बढेको छ । रोचक त के छ भने प्रचण्डलाई कुनैपनि हालतमा प्रधानमन्त्रीको कुर्सीबाट पर्छानको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले रणनीतिक कदम चालेका छन् । देउवाले त्यसको लागि माधव नेपाललाई नै दुई वर्ष प्रधानमन्त्री हुनेगरि आकर्षक प्रस्ताव राखेका छन् ।
देउवाको रणनीतिक चाल माधव नेपाललाई पत्नी आरजु रणासहित भेटेपछि सुरु भैसकेको बुझ्न सकिन्छ । यसअघि हिजै साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि माधव नेपाललाई भेटेका हुन् । उता, आकर्षक प्रस्ताव राख्दा जसपापनि एमाले–माओवादी गठबन्धनमा नजान सक्ने देउवाको बुझाई छ । रवि लामिछाने नेतृत्वको रास्वपाका नेताहरुसँग पनि देउवाको निरन्तर सम्पर्क रहेको बुझिएको छ । तर, प्रधानमन्त्रीको अफर नै आएका माधव नेपाल भने पार्टीभित्र एक्लो बनेका छन् ।
उनीसहित पार्टीका १० सांसदहरुमध्ये आधा दर्जन सांसद एमाले अध्यक्ष ओलीको सम्पर्कमा छन् । दुई जना सांसद प्रधानमन्त्री प्रचण्डसँग नियमित सम्पर्कमा छन् । माधव नेपालले कुनैपनि बेला धोका दिनसक्ने बुझेर नै ओलीले उनका सांसदहरुलाई आफ्नो विश्वासमा राखेका छन् ।
माधव नेपालको दल राष्ट्रिय दल नभएकोले संसद्मा ह्वीप नलाग्ने भनिएको छ । यसबारे कानूनी प्रश्न भने कायमै छ । माधव नेपाललाई आफ्नै सांसदको साथ नहुँदा देउवाले एमाले–माओवादी गठबन्धन भत्काउन गरेको प्रयत्न नै असफल हुने बुझिएको छ ।