Logo

संस्कृति संरक्षणमा जुट्दै लिम्बू समुदायका युवा



फिक्कल (इलाम), २३ फागुन । आधुनिकताले छपक्कै छोपेको नेपाली समाजका पुराना कला, संस्कृति र परम्परा ओझेल पर्दै गएका बेला इलामका लिम्बू समुदायका युवा पुस्ता भने संस्कृति संरक्षणमा जुटेका छन् ।

मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन रहेका पाइन्छ । पछिल्लो समय पश्चिमा संस्कृतिले लिम्बू समुदायका मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै लिम्बू समुदायका युवा पुस्ता संस्कृति संरक्षणमा जागरुक बन्न थालेका हुन् । उनीहरु लिम्बू समुदायका कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धधन तथा पुस्तान्तरणमा जुटेका हुन् ।

लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको अगुवाइमा कला, संस्कृति र परम्पराको संरक्षण संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले यही बिहीबार र शुक्रबार ‘प्रथम आदिवासी याक्थुङ÷लिम्बू सांस्कृतिक महोत्सव’ नै आयोजना गर्दैछन् ।

आदिवासी याक्थुङ÷लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन एवं नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले बताए । “वर्तमान युवा पिँढी आफ्नो मौलिकता बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेका छन्”, अध्यक्ष सोङ्मीले भने, “आफ्नै समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणका लागि इलाममा पहिलोपटक महोत्सव आयोजना गरिएको छ ।”

दुई दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन बिहीबार सांस्कृतिक झाँकीसहित लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिने अध्यक्ष सोङ्मीले जानकारी दिए ।

“महोत्सवमा करिब दुई सय बढी च्याब्रुङ नृत्य (केःलाङ) सहित सांस्कृतिक कला प्रस्तुत गरिनेछ”, उनले भने, “सहभागीले ताजा (पुरुषले लगाउने संस्कृतिक पोसाक) र मेख्ली (महिलाले लगाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शनी गरिनेछ ।”

दोस्रो दिन विभिन्न विषयमा छलफलका साथै महोत्सवका सहभागीका लागि तरेचा (लिम्बू सांस्कृतिक परिकार) तयार गरी वितरण गरिने अध्यक्ष सोङ्मीले बताए । त्यस्तै अन्य सांस्कृतिक परिकार तोङ्बा (एक प्रकारको जाँड), फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाउने आयोजकको तयारी छ ।

नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको प्रचारप्रसार उपसिमित सहसंयोजक अतित योङहाङले बताए । “कला, संस्कृति र परम्परा भनेको आदिवासी जनजातिको पहिचान हो, कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पहिचान जोगाउन युवा पुस्ताले चासो देखाउनुपर्छ”, उनले भने, “पुरानो कला, संस्कृति र परम्परा हाम्रो सम्पत्ति हुन्, त्यसैले यसको संरक्षण र सीप हस्तान्तरण आवश्यक छ ।”

इलाम चोक बजारमा हुने महोत्सवमा याक्थुङ÷लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन र चितवनसहित १३ जिल्ला तथा चार विदेशस्थित चुम्लुङ शाखाबाट सहभातिा रहने महोत्सव प्रचारप्रसार उपसिमितिका सहसंयोजक अतित योङहाङले जानकारी दिए ।

छलफलमा करिब दुई सय ५० जना सहभागी हुने आयोजकको अनुमान छ । छलफलमा कोशी प्रदेश नाम खारेज गर्दै लिम्बुवान् किरात नामकरणको अवस्था र भावी रणनीति, ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण आन्दोलनको अवस्था तथा भावी योजना, लिम्बुवान् आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ÷लिम्बू भाषा विकासको योजनालगायत विषयमा छलफल हुने सहसंयोजक योङहाङले जानकारी दिए ।

त्यस्तै इलाममा विजयबहादुर लिम्बूलगायत सहिदको लिम्बुवानका लागि बालिदानको चर्चा र याक्थुङ÷लिम्बू भाषा अभियान्ता आसाहाङ मादेनको योगदानको चर्चासमेत गरिने उनले जानकारी दिए ।

लिम्बू समुदाय आदिवासी जनजाति समुदायका धेरै समुदायमध्ये भाषा, संस्कृति र लिपिमा धनी समुदाय हो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार तीन सय ७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot