Logo

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सकियो



अन्नपूर्ण (कास्की), २४ फागुन । पोखरामा यही फागुन १९ गतेदेखि सुरु भएको ‘गण्डकी प्रदेश प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ सकिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा आर्ट ग्यालरीको प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । सिर्जनशील कलाकार समूहसँगको सहकार्यमा सुरु भएको यो प्रदर्शनी पाँच दिनसम्म सञ्चालन भएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका कला, भाषा, साहित्य, संस्कार र संस्कृतिको पक्षमा सकारात्मक रहेको बताए । “मैले पदभार ग्रहण गरेको २० महिना भयो । अहिलेसम्म एकजना पनि प्रस्ताव लिएर आउनुभएको छैन्”, उनले भने, “प्रस्ताव लिएर आउनुस् मिलेर काम गरौँ ।” महानगरको स्थापना दिवसका अवसरमा पृथ्वीचोकमा कोसेलीघरको शिलान्यास गरिने र यसमा पुस्तकालय र आर्ट ग्यालरी राखिनेसमेत उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्तम्छालीले ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भन्ने नाराका साथ कार्यक्रम गरिएको बताए । प्रतिष्ठानको काम व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको कुलपति हर्तम्छालीले बताए।

सोही कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले प्रदर्शनीले कलाको गुणस्तर वृद्धि भएको बताए । यसले जीवनसँग जोडिएका कलालाई समयको दस्तावेजका रूपमा राख्न सक्नुपर्नेमा उनको जोड थियो । पोखरा महानगरपालिकाले मायाको चिनो र कोसेलीका रूपमा कलाकारको तस्वीर तथा कलाकृति दिन साहित्यकार श्रेष्ठले सुझाव दिए ।

प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रादेशिक प्रदर्शनीमा सामेल भएकामध्ये ३५ कलाकृति काठमाडौँमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीका लागि छनोट भएका छन् ।

राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई एक लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिस्पर्धा हुनेछ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot