Logo

विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कास्मिर भ्रमण



श्रीनगर (भारत), २४ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ मा विवादित क्षेत्र कास्मिरको अर्ध स्वायत्तता खारेज गरेपछिको पहिलो भ्रमणका क्रममा बिहीबार भारत प्रशासित कास्मिरको मुख्य सहरमा र्याली गर्ने भएको छ ।

मोदी सरकारले मुस्लिम–बहुल क्षेत्र कास्मिरको विशेष संवैधानिक हैसियत खोस्दै पहिलाको राज्यलाई नयाँदिल्लीबाट प्रत्यक्ष शासित दुई क्षेत्रमा विभाजित गरेको थियो । उक्त कदमलाई सम्पूर्ण भारतमा स्वागत गरियो । यसबाट बाक्लो सैन्यीकृत क्षेत्रमा धेरै मानिसलाई असन्तुष्ट बनायो ।

हिमाली क्षेत्र कास्मिरमा विद्रोहीहरूले सन् १९८९ देखि स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै विद्रोह गरेका छन् । पाकिस्तानले कास्मिर क्षेत्रको एउटा सानो भूभागलाई नियन्त्रण गरेको छ । भारतले भने सम्पूर्ण कास्मिरमाथि दाबी गर्दछ ।

हिन्दू राष्ट्रवादी नेता मोदीले दिउँसोतिर एउटा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रमका लागि हजारौँ सशस्त्र प्रहरी र अर्धसैनिक बललाई परिचालित गरिएको छ भने कास्मिरको मुख्य सहर श्रीनगरमा नयाँ प्रहरी चौकीहरू स्थापना गरिएको छ ।

“विभिन्न विकास कार्य पनि राष्ट्रलाई समर्पित गरिनेछ”, भ्रमणअघि मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, “कृषि अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र पर्यटन कार्यक्रम पनि समावेश छ ।” मोदीले प्रतिष्ठित मुस्लिम तीर्थस्थल हजरतबल वरपरका पूर्वाधारको पनि उद्घाटन गर्ने सरकारी विज्ञप्तिमा जनाइएको छ ।

यो भ्रमण मेमा हुने भारतको राष्ट्रिय निर्वाचनअघि हुँदैछ । यो भ्रमण यस क्षेत्रको स्वायत्तता गुमाएपछिको पहिलोसमेत हो । कास्मिरमा अन्तिमपटक स्थानीय निर्वाचन सन् २०१४ मा भएको थियो ।

नयाँदिल्लीको कास्मिरमा प्रत्यक्ष शासनबाट उक्त क्षेत्रमा ‘शान्ति र विकास’ को नयाँ युग आएको मोदी सरकारले दाबी गरेको छ तर आलोचक तथा धेरै बासिन्दाहरूले यसले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा व्यापक कटौती गरेको बताएका छन् ।

सुरक्षा बलहरूले बिहीबार सडकहरूका साथै श्रीनगर हुँदै बग्ने नदी किनारमा मोटरबोटहरूबाट गस्ती गरेका छन् । सहरका अधिकांश विद्यालय दिनभरका लागि बन्द गरिएको छ र अधिकारीहरूले सरकारी कर्मचारीहरूलाई र्यालीमा उपस्थित हुन आह्वान गरेका छन् ।

जम्मू–कास्मिरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले सरकामाथि र्यालीमा सहभागी हुनका लागि भीड बनाउन बसहरूको व्यवस्था गरेको आरोप लगाउँदै ‘लगभग कसैले पनि’ स्वेच्छाले उपस्थित नहुने बताए । रासस



प्रतिक्रिया दिनुहोस्