काठमाडौँ, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए ।
“सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री दाहालले भने, “राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ ।” रासस