काठमाडौं, फागुन २५ । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि आज चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ विहिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए। उनीहरु विहिबार रातिदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।