काठमाडौं, फागुन २५ । आज महाशिवरात्री । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी पशुपति विकास कोषले विभिन्न चार स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । सहज पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।
कोषका अनुसार गुहेश्वरी–गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, मित्रपार्क-जयवागेश्वरी-ईंटापाखा भएर भुवनेश्वरी स्थित फलामको सानो ढोकाहुँदै पश्चिम ढोकाबाट एक लाइन, बत्तिसपुतली-गौशाला, पिङ्गलास्थान-सुमार्गी भवन अगाडिबाट चार शिवालय-पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक लाइन र एअरपोर्ट-तीलगङ्गा भएर राममन्दिर हुँदै वागमती पूर्व तर्फबाट एक लाइन गरी बाहिरी रुपमा चार स्थानबाट दर्शन लाइनहरुको व्यवस्था गरेको छ । त्यस्तै, नित्य दर्शनार्थीहरुका लागि बिहान ७ बजेभित्र भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
त्यस्तै, भक्तजन एव दर्शनार्थीहरूको भिडभाडलाई मध्यनजर गरी सहज आवतजावतको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष ट्राफिक योजना बनाएको छ । ट्राफिक महाशाखाका अनुसार आज तिलगङ्गा कोरिडोरको उपलब्ध हुन सक्ने ठाउँमा, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा, प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, गौशालाको परिसरमा, सिफल चौरको उपलब्ध हुन सक्ने जती ठाउँ , गुहेश्वरी पारी उपलब्ध हुन सक्ने जती ठाउँ गरी पाँच स्थानमा पार्किङ्गको व्यवस्था मिलाइएको छ ।
एअरपोर्ट, गौशाला, चावहिल रिङ्गरोड रुटमा दर्शनार्थीहरुको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकता अनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइनेछ । आज सडकछेउ फुटपाथमा कुनै पनि पसलहरु राख्ने अनुमति दिइने छैन ।
महाशिवरात्रि पर्व विशेष ट्राफिक व्यवस्थापन योजना अन्तरगत पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरी गौशाला क्षेत्रको भिड तथा यातायात व्यवस्थापन चुस्त राखिने महाशाखाले जनाएको छ । गौसला क्षेत्रमा हुन सक्ने सवारी आवागमनको समस्यालाई मध्यनजर गर्दै बैकल्पिक मार्गबाट सवारी संचालन गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।