काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुनभित्रै विश्वासको मत लिने भएका छन् । आज (शनिबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनको लागि समय घर्किन लागेको भन्दै सबै सांसदलाई आफ्नो ठाउँबाट तयारी थाल्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले फागुन ३० गतेभित्रै सदनमा विश्वासको मत लिन लागेका हुन् । यसअघि कांग्रेससहितको गठबन्धनमा रहेका दाहालले फागुन २१ गते एमालेसहितको नयाँ गठबन्धन बनाएका छन् । उता, कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्न केही चूनौति रहेको आँकलन गरेर नै पार्टीभित्र पनि सांसदहरुलाई ह्वीप लगाउने विषयमा छलफल गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने दाबी गरेका छन् । उनले अन्य साना दललाई पनि साथमै लिने विश्वास दिलाएका छन् ।