Logo

सन् २०२३ मा साउदी कम्पनी अरामकोको नाफामा २४.७ प्रतिशतले गिरावट



रियाद, २७ फागुन । साउदी अरबको बहुराष्ट्रिय कम्पनी अराम्कोको नाफामा सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा २४।७ प्रतिशतले गिरावट आएको कम्पनीले जनाएको छ ।

पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास उत्पादन तथा बिक्री गर्ने अराम्कोले साउदी स्टक मार्केटलाई दिएको जानकारीअनुसार सन् २०२३ मा कूल आम्दानी१२१.२५ अर्ब अमेरिकी डलर पुगेको छ भने सन् २०२२ मा यो १६१.०७ अर्ब डलर रहेको थियो ।

अरामकोले भनेको छ, “यो कमीले मुख्यतया कच्चा तेलको कम मूल्य र कम परिमाणमा बिक्रीको प्रभावलाई प्रतिबिम्बित गर्दछ ।”

फेब्रुअरी २०२२ मा युक्रेनमा रूसले गरेको आक्रमणका कारण तेलको मूल्य आकाशिएको थियो र त्यो वर्ष प्रति ब्यारेल १३० अमेरिकी डलरभन्दा बढी पुगेको थियो ।

अराम्कोले सन् २०२२ मा उच्च मुनाफा कमाएको र यसले राज्यलाई लगभग एक दशकमा पहिलो वार्षिक बजेट अधिशेष दिएको थियो ।

सन् २०२३ मा हामीले अहिलेसम्मकै दोस्रो उच्च आम्दानी हासिल गरेका छौं । अरामकोका कार्यकारी प्रमुख अमिन एच नासेरले भने, “विश्वव्यापी आर्थिक सङ्कटको पृष्ठभूमिको बावजुद हाम्रो लचिलोपन र सक्रियताले स्वस्थ नगद प्रवाह र उच्च स्तरको मुनाफामा योगदान पु¥याएको छ ।”

“हामीले सन् २०२३ मा भुक्तानी गरेको कुल लाभांशमा वार्षिक ३० प्रतिशतले वृद्धि गर्दै आफ्ना शेयरधनीलाई पनि लाभांश वितरण गरेका छौं,” उनले भने ।

गत वर्ष तेलको मूल्य घटेर प्रति ब्यारेल ८५ डलरमा झरेको थियो, जसका कारण पहिलो त्रैमासिकमा अराम्कोको नाफा १९.२५ प्रतिशत, दोस्रो त्रैमासिकमा ३८ प्रतिशत र तेस्रो त्रैमासिकमा २३ प्रतिशतले नाफा घटेको थियो ।

रियादस्थित कम्पनी जादवा इन्भेस्टमेन्टले अक्टोबरमा प्रकाशित एक रिपोर्टमा इजरायल–हमास युद्धका कारण विश्वव्यापी अनिश्चितताका कारण यस वर्ष कच्चा तेलको मूल्य प्रति ब्यारेल ८८ देखि ९० अमेरिकी डलर पुग्ने जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्