Logo

प्रचण्डबाट धोका खाएकाहरु मिति, तिथि गनेर बसेका छन्ः रमेश लेखक



काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै गठबन्धन भत्काएको दाबी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रमुख सचेतक लेखकले मुलुकमा भएको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्नदेखि माओवादीसँग कांग्रेसको कुनै न कुनै रुपमा सहकार्य, संवाद र वार्ता भएपनि अहिले आएर प्रचण्डबाट धोका पाएको बताएका हुन् ।

नेता लेखकले प्रधानमन्त्री प्रचण्डले राजनीतिक इमान कायम गर्न नसकेको र आफूहरुले धोकाको अनुभूति गरेको बताए । ‘हामीले धोकाको अनुभूति गरेका छौं । राजनीतिक रुपमा उहाँले इमान कायम गर्नुभएन भनिराखेका छौं । त्यो सत्य हो । उहाँले गठबन्धन भत्काउनु भयो, अर्को बनाउनु भयो । उहाँले मैले गरेँ भन्दा केही बिग्रिदैन,’– उनले भने ।

साथै, उनले प्रधानमन्त्री प्रचण्डबाट धोका पाएकाहरु धोका खाएको समय, मिति र तिथिसमेत गनेर बसिरहेका उनले बताए । प्रचण्डसँग धोका खान बाँकी कोही पनि नरहेको उनको टिप्पणी छ । उनले एक दिन प्रचण्डबाट धोका खाएकाहरु एक ठाउँमा आउनसक्ने सम्भावनालाई नकार्न नसकिने बताए ।

‘अब प्रचण्डजीबाट धोका खाने पनि धेरै भइसके । हिँड्दाखेरी एक दुई पटक ठेस लाग्यो भने यहाँ ठेस लाग्छ भन्ने थाहा भइहाल्छ । धोका धेरैले खाइसके । धेरै पटक खाइसके । धोका खानेहरुले हामीले धोका खायौं है भनेर थाहा पाइसके । यति पटक खायौं भनेर पनि गन्ती गर्न थालिसके । ती सबै धोका खानेहरु धोका खाएका समय, मिति, तिथिसमेत गनेर बसिराखेका छन् भने यस्तो स्थितिमा भोलिको दिनमा राजनीतिमा असम्भव केही पनि हुँदैन । त्यसमध्ये एउटा सम्भावना धोका खानेहरु एक ठाउँमा आउनसक्छन्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्