काठमाडौं, २९ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गराएका छन् । पार्टीको बैठक राखेर राउतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गराएका छन् । यसअघि ०७९ पुष १० गतेदेखि गत फागुन २२ गतेसम्म राउतको पार्टी सरकारमै थियो ।
प्रधानमन्त्री दाहालले सत्ता सहकार्यको लागि कांग्रेसको साथ छोडेर एमाले रोजेपछि राउत नेतृत्वको दल केन्द्रमा मात्रै नभएर प्रदेशमा पनि सत्ता राजनीतिबाट पर धकेलिएको छ । प्रधानमन्त्री दाहालले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग सहकार्य गरेका छन् । मधेश प्रदेशमा राउत र यादवको राजनीतिक टक्कर छ ।
राउतले अन्तिम समयसम्म पनि प्रचण्डसँग मधेश प्रदेशको नेतृत्वको लागि दाबी गरेका थिए । तर, यादवले राउतसँग सहकार्य गर्ने हो भने आफू केन्द्रको सरकारमा पनि सहभागी नहुने चेतावनी दिएपछि दाहाल रोकिएका हुन् । राउतले अहिले कांग्रेससँग सहकार्य गर्नेगरि आफूलाई मुभ गराएका छन् ।
प्रधानमन्त्री दाहालले एमालेसँग सहकार्य गरेर मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै गर्दा राउत भने देउवाको बुढानिलकण्ठस्थित् निवासमा वैकल्पिक गठबन्धन बनाउनेगरि छलफलमा जुटेका थिए । पछिल्लो समय राउतले प्रधानमन्त्री दाहालको सार्वजनिक रुपमै विरोध र आलोचना गर्न थालेका छन् ।
हिजोमात्रै राउतले दाहालले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्नेगरि हाई–लेभल बैठक बोलाएको सनसनीपूर्ण खुलासा गरेका थिए । उनले बालेनलाई पक्राउ गर्न नहुने अडान देउवाले लिएको भन्दै उनको प्रशंसा पनि गरेका छन् । कुनै समय राउतको नेपालका समकालिन नेतृत्व तहका नेताहरुमा मनपर्ने नेतामा दाहाल नै थिए । उनले केही टेलिभिजन अन्तर्वार्तामा समेत यो कुरा भनेका छन् । file photo