काठमाडौं, ३० फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले उपेन्द्र यादवलक्षित कडा टिप्पणी गरेका छन् । उनले यादवलाई गौर हत्याकाण्डमा मुछिएको भन्दै कारबाही गर्ने हिम्मत छ ? भनेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रश्न तेर्साए । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेको आफूमाथि विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा राउतले यस्तो टिप्पणी गरेका हुन् ।
उनले गौर हत्याकाण्डमा मुछिएका सहभागी सरकारमा भएको कारण आफ्नो दलको समर्थन रहेको जिकिर गरे । सम्बोधनको क्रममा उनले भने, ‘तपाईंहरूलाई गौर नरसम्हारबारे थाहा छैन होला मैले प्रतिवेदन प्रिन्ट गरेर ल्याइदिएको छु । त्यहाँ बलात्कार गरेर ज्यूँदै जलाएर गोप्य अंगमा भाला रोपेर २७ जनाको निर्मम हत्या गरिएको थियो । तीनैसँग कुम जोडेर बस्नुभएको छ आज उहाँमाथि कारवाही गर्ने तपाईँहरूको ल्याकत छ ? यसरी कुम जोडेर बस्नेलाई विश्वासको मत दिन सक्दैनौं ।’